२५ जेष्ठ २०८३, सोमबार

एनआरएनए एकताका लागि लचक छौँ : डा. बद्री केसी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन् २००३ मा सुरु गरिएको गैरआवासीय नेपाली अभियानले आज २२ वर्ष पूरा गरेको छ ।

यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको उपलब्धिहरू र आगामी कार्यदिशाबारे जानकारी दिएका छन् ।

डा. केसीका अनुसार, २२ वर्षको अवधिमा संघले ९० भन्दा बढी देशमा औपचारिक सञ्जाल विस्तार गरी विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न सफल भएको छ । यद्यपि विगत केही समयदेखि देखिएको संस्थागत असहजतालाई समाधान गर्न संघ आन्तरिक संवाद र सहमतिको प्रक्रियामा छ ।

उनले भने, ‘संघलाई पुनः एकताबद्ध गर्दै १२औं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु हाम्रो साझा दायित्व हो,’ ।

पछिल्लो समय अभियानको फरक धारमा रहेका समूहहरुसँग छलफलको क्रममा ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सहमतिमा पाँच सदस्यीय स्टेरिङ कमिटी गठन गर्ने प्रस्तावमा सहमति नजिकिएको छ । कमिटीले आगामी तीन महिनाभित्र १२औं महाधिवेशन सम्पन्न गर्ने योजना अघि सारिएको छ । संघले सबै पक्षलाई संवादमा आउन आह्वान गर्दै संस्थागत एकता कायम गर्न लचकता अपनाइरहेको जनाएको छ ।

अध्यक्ष केसीले फरक धारमा रहेकाहरूप्रति संवादका ढोका खुला रहेको समेत उल्लेख गरेका छन् ।

एनआरएनएले हालैका वर्षहरूमा नेपालको सामाजिक तथा आर्थिक विकासमा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पुँजीको सदुपयोग गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा जलविद्युत, बैंकिङ, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य लगानी भित्रिएको जनाइएको छ ।