१४ असार २०८३, आइतबार

सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको ज्यान गयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २३ असोज । सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो गोमन सर्पको टोकाइबाट ४२ वर्षीया नयनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रविन्द्र यादवकी श्रीमती नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्यले तुरुन्त अस्पताल लैजानुको साटो नजिकै रहेको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए ।

झारफुकपछि पनि अवस्था गम्भीर बनेपछि मात्र उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत अवस्थामा ल्याइएकी नयनदेवीलाई सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम चढाउन पाइएन । मृत घोषणा गरिएपछि पनि परिवारका सदस्यले उनलाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगेका थिए । त्यहाँ पुराएपछि बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान भनिएको थियो ।

प्रत्येक वर्ष सर्लाहीमा सर्पदंशका कारण मृत्यु हुने घटनामा समयमै उपचार नपाउने र धामीझाँक्रीको भर पर्ने प्रवृत्तिले ठूलो जोखिम थपिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।