११ श्रावण २०८३, सोमबार

बालेन र सुदनविरुद्धको जाहेरीमा केरमेट, फेरि परिसर पुगे अखिलका विद्यार्थी नेता

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय समितिले दिएको जाहेरी बुझ्न नसकिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

अखिलका पूर्वअध्यक्ष समिक बडाल, महासचिव दीपक धामी लगायत हिजो परिसरमै पुगेर जाहेरी बुझाएको थियो । उक्त जाहेरी दर्ता नगरी प्रहरीले २४ घण्टापछि जवाफ दिने बताएको थियो ।

परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार, अखिलले बुझाएको जाहेरी केरमेट भएका कारण बुझ्न असहज भएको छ । ‘केरमेट भएका कारण प्रष्ट हुन सकेनौं । केरमेट भएकाले हामीले त्यसलाई अघि बढाएनौं,’ भट्टराईले भने ।

अखिलले तीन वटा विषयलाई लिएर जाहेरी दिएको थियो । सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसी गरिरहेको विषयलाई लिएर अखिलले जाहेरी दिएको बडालले बताएका छन् ।

उनका अनुसार, अहिले अखिलका केही विद्यार्थी नेताहरू फेरि परिसरमा पुगेका छन् । ‘प्रहरीले नबुझेको बताएपछि अहिले हाम्रा केही नेताहरू छलफलका लागि परिसर पुगेका छन्,’ बडालले भने ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएको थियो । उक्त जाहेरी पनि प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो ।

भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवार जाहेरी दिन पुगेका थिए ।