
हेटौंडा, २० असोज । हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ ।
हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ । शिशुको तौल मात्र ७५० ग्राम रहेको र अत्यन्तै नाजुक अवस्थामा भेटिएको उनले बताइन् ।
शिशुलाई सुरुवाती उपचारका लागि हेटौंडा अस्पताल लगिएको भए पनि अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइन् ।
बालगृहको वार्डेनले गेटबाहिर शिशु फेला परेपछि तत्काल सम्बन्धित निकायलाई खबर गरेका थिए । त्यसपछि महिला तथा बालबालिका शाखाको समन्वयमा ‘सेफ हाउस’, ‘ओसिएमसी’ र ‘हाम्रो घर बालगृह’को संयुक्त पहलमा शिशुलाई अस्पताल पु¥याइएको हो ।
शिशु फेला पर्दा उसले लगाएका लुगा तथा साथमा रहेका केही सामग्रीको फोटो सुरक्षित गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । साथै, शिशुको आमा वा आफन्तका रूपमा कुनै जानकारी हुने व्यक्तिलाई महिला, बालबालिका तथा समावेशीकरण महाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ ।








प्रतिक्रिया