
विराटनगर, २० असोज । कोशी प्रदेश सरकारले हालको बाढी–पहिरोले प्रभावित क्षेत्रमा आफ्नो स्रोतसाधनलाई भ्याएसम्म परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको जनाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममै रहँदै राहत तथा उद्धारमा खटिएका छन् । प्रदेशका अन्य मन्त्रीहरू समेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रुपमा उद्धार तथा राहत कार्यमा सहभागी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै प्रदेश मन्त्रीहरू फिल्डमै रहेर राहत कार्यमा जुटिरहेको जानकारी दिए । उनका अनुसार भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत बाढीपहिरोका कारण अवरुद्ध भएका सडक तथा साना बाटाहरू खोल्नका लागि १४ वटा पूर्वाधार कार्यालयलाई तत्काल काम अघि बढाउन हिजो नै निर्देशन दिइसकिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लास्तरीय सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय र सहकार्य गरिरहेको छ । मन्त्री रेवतीरमण भण्डारीका अनुसार सबैतिर आवश्यक समन्वय गरी उद्धार कार्यमा सक्रियता देखाइएको छ।
“हामी सबै मन्त्रीहरू फिल्डमै रही जनताको सुरक्षाका लागि काम गरिरहेका छौँ,” मन्त्री भण्डारीले भने । उनका अनुसार केही दिनअघि मन्त्रालयले प्रदेशका सुरक्षा निकायहरूलाई लाइफ ज्याकेट, बोटलगायतका विपद्–उद्धार सामग्री वितरण गरेको थियो, जसका कारण अहिले उद्धार कार्य सहज भएको छ । करिब दुई करोड रुपैयाँ बराबरका ती सामग्री यसै वर्ष सुरक्षा निकायहरूलाई उपलब्ध गराइएको उनले जानकारी दिए ।
मन्त्री भण्डारीले कोशी प्रदेश सरकारले देशकै पहिलो पटक डिजिटल जोखिम नक्सा तयार गरी कुन–कुन स्थान उच्च जोखिममा छन् भन्ने विवरण सबै पालिकालाई उपलब्ध गराइसकेको बताए । यो विपद व्यवस्थापनका लागि एउटा महत्वपूर्ण सूचना र सहयोग थियो । “प्रदेश सरकारले सबै स्रोत–साधनलाई भ्याएसम्म प्रयोग गर्दै विपद् प्रभावित जनतासँगै खटिएको छ,” उनले भने ।
उनका अनुसार केही समयअघि भएको आन्दोलनका क्रममा मन्त्रालयमा रहेका केही राहत तथा उद्धार सामग्री नष्ट भए पनि हाल थप सामग्री वितरणका प्रयास भइरहेको छ ।
मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइएको उल्लेख गर्दै प्रदेश सरकार विपद् व्यवस्थापनमा पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पारे ।
उनका अनुसार हरेक वर्ष प्रदेश सरकारले कोशी प्रदेशका सुरक्षा निकायहरूलाई विपद् व्यवस्थापनका सामग्री खरिद तथा सहयोग गर्दै आएको छ । यसले विगत वर्षहरूको तुलनामा यस वर्ष उद्धार कार्यलाई अझ प्रभावकारी बनेको छ ।








प्रतिक्रिया