
काठमाडौं, १९ असार । ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द रहेका सडक खुलाउने तयारी गरेको बताएका छन् ।
दुई दिनको वर्षापछि भएको घटनाको बारेमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन् । त्यस क्रममा उनले सबैको सतर्कताले मानवीय क्षति कम भएको पनि बताए । वर्षातका कारण आएको बाढीका कारण ठूलो मानवीय क्षति नभएको स्पष्ट पारे ।
वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै उनले त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माण गर्ने जानकारी दिए ।
सावधानी अपनाउन आग्रह
यता, असोज १७, १८ र १९ गते देशभर भएको अविरल वर्षा र त्यसपछिका पहिरो तथा बाढीका घटनाका कारण देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध भएकाले यसले यातायात सेवा प्रभावित पारिरहेको जनाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार वर्षा र पहिरोका कारण देशका प्रमुख तथा सहायक सडकहरू बन्द हुँदा जनजीवन प्रभावित भएको छ । मन्त्रालयले घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, जोखिमयुक्त स्थानमा यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ ।
सडक विभागले प्रमुख अवरुद्ध सडकहरू खोल्नका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको जनाएको छ । केही प्रमुख राजमार्गहरू खुलाउने कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ । विशेषगरी, नारायणघाट–मुग्लिन सडक खण्डमा सवारी साधनको एकतर्फी सञ्चालन सुरु गरिएको छ भने अन्य सडकहरूमा पनि अवरुद्ध स्थान हटाइरहेको छ ।
यस्तै, पोखरा–मुग्लिन तथा भुलभुले–बेसीशहर सडकखण्ड पनि सुचारु गर्न आवश्यक कार्य भइरहेको छ । सडक विभाग स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी लगायत स्थानीय निकायसँग समन्वय गरी सडक सुचारु गर्ने कार्यमा खटिएको छ ।
नवीनतम जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।









प्रतिक्रिया