
काठमाडौं, १८ असोज । पानी परिरहेकाले यात्रामा जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ ।
धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ । मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले खुला छ । तर यात्रामा जोखिम भएको भन्दै सवारी साधन चलाउन रोक लगाइएको छ ।
मुग्लिन–नारायणगढको तुइन खोलामा सानो पहिरो खसेको थियो । अहिले भने बाटो दुईतर्फी नै खुला रहेको प्रहरीले जनाएको छ । तर ढुङ्गा खस्ने क्रम जारी छ । यात्रामा जोखिम रहेकाले सवारी आवागमन रोकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरी यात्रामा जोखिम भएकाले आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको जनाएको छ । ‘चितवनको मुग्लिनस्थित तुइन खोलामा पहिरो लगायतका स्थानहरुमा ढुङ्गा खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई (बिहान ६ः०० बजेबाट) चितवनस्थित राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनामा लेखिएको छ ।
धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो । प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो । तर फेरि करिब ६ बजेतिर माथिबाट पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन । यो सडकखण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।









प्रतिक्रिया