४ असार २०८३, बिहिबार

मनसुन बाहिरिने क्रम रोकियो, विकास हुँदै छ भारी वर्षा गराउने प्रणाली

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । यो वर्षको मनसुन बाहिरिने क्रम तत्काललाई रोकिएको मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिँदै भारतको उत्तराखण्ड, उत्तर प्रदेशसम्म आइपुगेको छ । अब भने कम्तीमा एक साता मनसुन बाहिरिन रोकिने सम्भावना उच्च रहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले उल्लेख गरेका छन् ।

“अर्थात्, समुद्रमा उत्पन्न नयाँ प्रणालीका कारण मनसुन बाहिरिने क्रम रोकिएको हो । यो कुरा भारत मौसम विभागले हिजो जारी विज्ञप्तिमा उल्लेख्य गरेको छ,” विज्ञ उप्रेतीले सोमबार (असोज १३) दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

समुद्रमा उत्पन्न त्यही नयाँ प्रणालीका कारण बडादसैँ टीकाको भोलिपल्ट (असोज १७)देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको उनले जनाएका छन् । “असोज १८ देखि असोज २१ सम्म नेपालमा पनि (वर्षा गराउने प्रणाली) सक्रिय हुने सम्भावना छ,” उनले भनेका छन् ।

भारत मौसम विभागले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरेको छ ।

“विभिन्न मोडेलको सूक्ष्म अध्ययन गर्दा नेपालमा भने असोजको १७ गते रातिदेखि कोसी प्रदेशबाट (वर्षा) प्रवेश गरी असोज १९–२० सम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने देखाउँछ । असोजको १५ गतेसम्म अझ स्पस्ट हुनेछ” विज्ञ उप्रेतीले लेखेका छन् ।

मनसुन अवधिको यही असोज १० गतेसम्म नेपालमा १,२६९.९० मिलिमिटर वर्षा भएको छ । यो भनेको मनसुनी वर्षाको ८५.८ प्रतिशत हो । “अर्थात्, अहिलेसम्म औसतभन्दा कम वर्षा भएको छ,” उनले भनेका छन्, “गत वर्ष असोजको अन्तिममा मनसुन बाहिरिएको थियो ।”

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । यो मितिभन्दा अगाडि वा पछाडि पनि मनसुन बाहिरिन सक्छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि उक्त अवधिमा भारी वर्षाको सम्भावना औँल्याएका छन् ।

“अहिलेको फोरकास्ट (पूर्वानुमान) हेर्दा अक्टोबर ४ देखि अक्टोबर ७ (असोज १८–२१)सम्म भारी वर्षाको सम्भावना देखाएको छ,” उनले शनिबार (असोज ११) बिहान फेसबुकमा लेखेका छन्, “ प्रार्थना गरौँ, यो फोरकास्ट नमिलोस् ।”

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यसअघि महाअष्टमीदेखि विजयादशमीसम्मको दसैँ विशेष मौसम बुलेटिन जारी गरेको थियो । त्यसमा मध्यमसम्म वर्षाको सम्भावना औँल्याइएको थियो ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।