१४ असार २०८३, आइतबार

फरार कैदीबन्दीलाई असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

चितवन, १३ असोज । कारागार कार्यालय चितवनले फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै गत भदौ २५ गते कारागार कार्यालयबाट बाहिर निस्किएका कैदीबन्दीलाई यही असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरको हो ।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ। कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ ।

कैदीबन्दी कतै रहेको जानकारी भए नजिकको प्रहरी कार्यालयलमा जानकारी गराएर सहयोग गरिदिनुहुनसमेत सूचनामा भनिएको छ । कारागार कार्यालयबाट गत भदौ २५ गते सात सय ४२ कैदीबन्दी भागेका थिए ।

जसमध्ये पाँच सय ६१ जना कारागारको सम्पर्कमा आएका छन् भने अन्य जिल्लामा रहेका कारागारमा आठजना सम्पर्कमा आएका छन् । साथै, अन्य जिल्लाबाट भागेका १७ जना कैदीबन्दी यस कारागारमा सम्पर्कमा रहेको उनले जानकारी दिए ।

यस्तै, ललितपुरस्थित नख्खु कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै ६५१ जना फरार रहेकाहरुलाई असोज २० गते सोमबारसम्म फर्किन कारागार व्यवस्थापन विभाग निर्देशन दिएको छ ।

कैदीहरुलाई नख्खु कारागार प्रशासनले सूचनामार्फत फर्कन आह्वान गरे पनि फर्किएका छैनन् । विभागले फरार कैदीलाई खोजी गर्न तथा फिर्ता ल्याउन सहयोग पु¥याउन कैदीबन्दीका परिवारजन, स्थानीय तह, सुरक्षा निकाय, सञ्चार माध्यम र अन्य सरोकारवाला निकायसँग सहकार्यका लागि आग्रह गरेको छ ।

फरार कैदीहरूले तोकिएको म्यादभित्र आफैंँ नजिकको प्रहरी कार्यालय, कारागार वा सम्बन्धित निकायमा सम्पर्क गरेर आत्मसमर्पण गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ । तोकिएको समयसीमाभित्र नफर्किए कारागार ऐन, २०७९ अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने कारागार व्यवस्थापन विभागले जनाएको छ ।