
काठमाडौं, १२ असोज । सार्वजनिक यातायात व्यवसायीले आफूखुसी भाडा बढाएको खुलेको छ । सरकारले भाडा बढाउने कुनै निर्णय गरेको छैन । तर, यात्रुबाट १० देखि २० प्रतिशतका दरले बढी भाडा असुल गरेको पाइएको हो ।
बढी भाडा लिने सवारी कर्मचारी र गाडीलाई ‘होल्ड’ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्रसिंह गुरुले बताए । “चाडपर्वको बेला बढी भाडा लिएको गुनासो आयो । त्यस्ता सवारीसाधनहरूलाई विभिन्न ठाउँमा रहेका ट्राफिक सहायता कक्षमा होल्ड गरिएको छ,” उनले भने ।
ट्राफिक प्रहरीका अनुसार, एउटै सिटमा चारजना समेतको टिकट काटेर ठगी गर्न खोजिएको पनि खुलेको छ । “विभिन्न ठाउँमा यात्रुहरूको अत्यधिक चाप छ । एउटै लामो दूरीका बसहरूले एउटै सिटमा चारजनासम्मको टिकट काटेर यात्रुलाई दुःख दिने गरेका छन्,” उनले भने, “त्यस्ता बस चालकहरूलाई कारबाही गरी यात्रुको टिकट सिटको ग्यारेन्टी गरेका छौँ ।”
सार्वजनिक यातायात राष्ट्रिय महासंघका महासचिव भरत नेपालले यातायात सञ्चालकले दसैँका बेलामा आफूखुसी २० प्रतिशतसम्म बढी भाडा लिन पाउने जिकिर गरे । “यसपटकको दसैँमा भाडा बढाइएको छैन् । यातायात सञ्चालकहरूले स्वचालित भाडादरको २० प्रतिशतसम्म बढी भाडा लिन पाउँछन् । त्यसको आधारमा यात्रुसँग भाडा लिएका हुन्,” उनले भने ।
इन्धनको मूल्यानुसार भाडा घट बढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु मर्कामा पर्दै आएका छन् । यातायात व्यवस्था विभागले चाडपर्वको मौका छोपेर सार्वजनिक यातायातले बढी भाडा असुल्ने, टिकट कालोबजारी गर्नेमाथि कारबाहीको चेतावनी दिएको छ । तोकिएको भाडादर अनुसार मात्र टिकट काट्ने व्यवस्था गर्न र अनलाइन टिकट प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकाय र सरोकारवालालाई विभागले आग्रह गरेको छ ।








प्रतिक्रिया