
काठमाडौं, ११ असोज । सैनिक मुख्यालय जंगी अड्डा, भद्रकालीमा बिहीबार र शुक्रबार दुई दिन पृतनापति समन्वयात्मक बैठक–२०८२ सम्पन्न भएको छ । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको भर्चुअल सहभागीतामा सम्मेलन सम्पन्न थियो ।
सम्मेलनमा पूर्वीपृतनाका प्रमुख गौरवकुमार केसी, मध्य पृतनाका हरेन्द्र पाठक, उपत्यका पृतनाका रवीन्द्र कार्की पश्चिम पृतनाका मधुकर सिंह कार्की, मध्य पीश्चम पृतनाका प्रेम पुन, उत्तर पश्चिम पृतनाका दिपेशजंग शाह र सुदूरपश्चिम पृतनाका किरण केसी सहभागी भर्चुअल रुपमा जोडिएका थिए ।
नेपाली सेनाको वार्षिक कार्यतालिका अनुसार वर्षमा दुई पटक हुने पृतनापति समन्वयात्मक बैठक अनुसार यो एउटा बैठक थियो । सेनाको नियमित कार्यतालिका अनुसार यो समन्वयात्मक बैठक सम्मपन्न भए पनि अहिलेको वर्तमान राजनीतिक परिस्थितिका कारण यसलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ ।
२३ र २४ भदौमा देशभर भएको जेनजी प्रदर्शनपछि नेपालको सुरक्षा चुनौती बढेको छ । ७४ जनाको ज्यान गएर सरकारको सत्तामै उलटफेर ल्याएपछि पृतनापति बैठकमा पनि यिनै विषयमा गम्भीर छलफल र सुरक्षा चुनौतीबारे विश्लेषण भएको छ ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अनलाइनखबरसँग भने, ‘समसामयिक विषयमा छलफलहरू भए, आफ्नो क्षेत्रका बारेमा पृतनापतिहरूले बिफ्रिङ गरे । सम्पादन गर्नुपर्ने कामको बारेमा समीक्षा र सुझाव भयो ।’
जेनजीको २३ भदौको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर काठमाडौं र सुनसरीमा गरी २१ जनाको ज्यान गएको थियो । यसै दिन गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । २३ भदौको राति प्रधानमन्त्री निवास बालुटावाटारमा चारै वटा सुरक्षा निकायका प्रमुख र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल भयो ।
त्यतिबेला सुरक्षा प्रमुखहरूको गम्भीर छलफल गरेर सुरक्षा रणनीति बनाउनुभन्दा पनि तत्कालीन प्रधानमन्त्री ओलीको प्रस्तुतिले सुरक्षा निकायका प्रमुखहरू झनै चिढिएका थिए । भोलिपल्ट २४ गतेको सुरक्षा अवस्था त नाजुक थियो । बिहानबाटै नेपाली सेना मैदानमा खटिएको थियो । तर महत्त्वपूर्ण संरचनाहरू सेनाले जोगाउन नसकेबारे आलोचना भइरहेको छ ।
चुनाव हुँदा र नहुँदाका सुरक्षा चुनौतीको विश्लेषण गर्दै गर्नुपर्ने तयारीका बारेमा छलफल भएको उच्च सैनिक स्रोतले बतायो ।
पृतनापति समन्वयात्मक बैंकमा भने यसबारे छलफल भएको थियो । सैनिक स्रोतका अनुसार सेनाले त्यतिबेला सुझबुझपूर्ण ढंगले स्थिति नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति भएको भन्दै समीक्षा भयो ।
समन्वयात्मक बैठकमा भने यसबारे पनि केही छलफल भएको सैनिक स्रोत बताउँछ । ‘जेनजी घटनामा मानवीय क्षति र भौतिक क्षतिको कुरा उठ्यो । कति मानवीय क्षति भएर भौतिक क्षति जोगाउने ?,’ सैनिक स्रोत भन्यो, ‘सेनाले उच्च कौशल प्रदर्शन गरेर स्थिति नियन्त्रणमा लिएको भन्ने समीक्षा भयो ।’
यसबारे सैनिक मुख्यालयले भने आधिकारिक रुपमा केही बोलेको छैन । सैनिक प्रवक्ता सहायक रथी बस्नेत भन्छन्, ‘जंगी अड्डाले यसबारे केही दिनपछि प्रष्ट पार्छ ।’ सैनिक स्रोतका अनुसार अहिले त्यो घटनाबारे जवाफ दिन उपयुक्त समय नरहेको बताइएको छ । परिस्थिति अनकुल भएपछि सेनाले यो घटनाबारे सम्पूर्ण जानकारी गराउने गरी आन्तरिक तयारी गरेको सैनिक स्रोत बताउँछ ।
समन्वयात्मक बैठकमा अर्चुअल माध्यममबाट जोडिएका पृतनापतिहरूले आ–आफ्नो ठाउँको अहिलेको सुरक्षाबारे विश्लेषण गर्दै ब्रिफिङ गरेका थिए । जहाँ अधिकांश पृतनापतिहरूले विस्तारै अवस्था सामान्य बन्दै गए पनि सुरक्षा चुनौती भने उच्च रहेको निष्कर्ष निकालेका थिए । अनलाइन खबर








प्रतिक्रिया