३० आश्विन २०८३, शुक्रबार

तुइनखोलाको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने अपेक्षा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकिएको छ । बिहीबार दिउँसो पौने तीन बजेसम्म करिब ६० प्रतिशत पहिरो पन्छाउने काम सकिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउनका लागि नारायणगढ तर्फ २ र मुग्लिन तर्फ ३ गरी ५ वटा उपकरणहरू प्रयोग भएका छन् । साथै दुवैतर्फ १/१ वटा उपकरण तयारी अवस्थामा राखिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवै तर्फ ५ वटा उपकरणले मात्रै पहिरो हटाउने काम भइरहेको हो । नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरू भेटिएका कारण पहिरो पन्छाउन केही कठिनाइ भएता पनि प्रयोग भएका उपकरणले पूर्ण क्षमतामा काम गरिरहेको छ ।

सडकमाथिबाट खसेको पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाका कारण उपकरणका टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेको सडक डिभिजनको भनाइ छ । हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर झिकाइएर कामलाई निरन्तरता दिइएको छ ।

काममा कुनै बाधा आइनपरे सम्भवतः आज रातिसम्म पूर्ण रूपमा पहिरो हटाएर आवागमन सञ्चालनमा ल्याउने अपेक्षा सडक डिभिजन भरतपुरको छ ।