१६ असार २०८३, मंगलबार

प्रहरी संरचना पुनःनिर्माणमा एनआरएनएको प्रतिवद्धता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले जेन जी प्रदर्शनको क्रममा ध्वस्त भएका प्रहरी संरचना पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज काठमाडौँ उपत्यका ट्राफिक कन्ट्रोल रुमको अनुगमन गर्दै उनले क्षेतिग्रस्त संरचना पुनःनिर्माणका लागि आवश्यक पर्ने सबै किसिमको सहयोग गर्न तयार रहेको बताएका हुन् । ट्राफिक प्रमुख एसपी नवराज अधिकारीसँग बग्गीखानामा भेट गर्दै अध्यक्ष श्रेष्ठले आम जनजीवन सामान्य बनाउन र समाजलाई लयमा फर्काउन सडक सुरक्षा अत्यन्तै महत्त्वपूर्ण हुने भएकाले ट्राफिक सहयोगका लागि आर्थिक संकलन थालेको जनकारी दिए ।

सो क्रममा एसपी अधिकारीले पनि एनआरएनएको प्रतिवद्धताप्रति धन्यवाद दिँदै सहकार्यमा जोड दिएका थिए । अहिले कार्यालयको सेवा टेन्टबाट भइरहेको र ट्राफिक कन्ट्रोल रुम सञ्चालनमा आएपछि धेरै सहज हुने उनको विश्वास छ ।

एनआरएनए उपाध्यक्ष एवं डिजास्टर म्यानेजमेन्ट कमिटीका संयोजक मनोज श्रेष्ठ गोर्खालीले पनि अहिले फाउन्डेसनको काम भइरहेको बताउँदै उपकरणहरू चाँडै जडान हुने बताए । यसैगरी सहसंयोजक एवं महिला उपाध्यक्ष रश्मी थापाले कामदारको सङ्ख्या बढाएर भए पनि दसैँको टिका अगाडि काम सक्ने तयारी रहेको जानकारी दिइन् ।

प्रदर्शनका क्रममा ट्राफिक कन्ट्रोल रुमको सबै संरचना जलेर ध्वस्त भएको छ । उक्त संरचना तयार पार्नका लागि कम्तीमा ८० लाख लाग्ने अनुमान गरिएको छ । एनआरएनएले कम्प्युटर, टिभी, फर्निचर, रेडियो सेट लगायतका उपकरण प्रदान गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यस्तै, एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले नेपाल सरकारले प्रवासमा बस्ने नेपालीहरूसँग सहकार्य गरेर पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार नै अध्यक्ष श्रेष्ठले रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआइजी दानबहादुर कार्कीसँग पनि छलफल गरेका थिए । एआइजी कार्कीले प्रहरीलाई आवश्यक पर्ने उपकरणहरू सहयोग गर्न लागेकोमा धन्यवाद दिए ।

सो अवसरमा एनआरएनए अभियन्ता जानकी गुरुङ, युवा संयोजक भीमसेन थापा, सदस्य सचिव धर्मराज गिरी, सदस्यहरू प्रदीप खनाल, नीराजन खत्री लगायतको सहभागिता रहेको थियो