
काठमाडौं, ७ असोज । जेनजी आन्दोलनका क्रममा विभिन्न नेताहरूको घरमा रकम भेटिएको घटनाले नयाँ विवाद निम्त्याएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा भेटिएको रकम मात्र फरेन्सिक परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । तर, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा भेटिएको भनिएको रकम भने परीक्षणका लागि नपठाइएपछि आलोचना भएको छ ।
आन्दोलनकारीहरूले “एकै प्रकृतिको घटना भए पनि दुई नेताको मात्र रकम परीक्षणमा पठाउनु र अर्कोलाई उम्काउनु सरकारले देखाएको दोहोरो मापदण्ड हो” भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा समेत सरकारको निर्णयप्रति आक्रोश फैलिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र खड्काको घरमा भेटिएको भनिएको जलेका नोटबारे अनुसन्धान थालेको छ । विभागले संकलन गरेको खरानी र टुक्रा वास्तविक नोट भएको पुष्टि भए, उनीहरू प्रत्यक्ष रूपमा सम्पत्ति शुद्धीकरण मुद्दामा तानिने सम्भावना देखिएको छ ।
“यदि पारदर्शिता नै देखाउनुपर्ने हो भने सबै नेताको घरमा भेटिएको रकम समान प्रकृतिबाट जाँच हुनु पर्छ । केवल देउवा र खड्कालाई मात्र लक्षित गरी प्रचण्डलाई छाड्नु सरकारको पक्षपातपूर्ण नियत हो,” सामाजिक सन्जालमा एक युवाले प्रश्न उठाएका छन् ।















प्रतिक्रिया