२३ असार २०८३, मंगलबार

पढेलेखेका साइकल मिस्त्री बृहस्पति

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सुदूरपश्चिम, ६ असोज । बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्छन् । उनी सो क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

धनगढी उपमहानगर–१ मा टहरो बनाई साइकल मर्मत पसल चलाएका उनले धनगढीमा घरजग्गा र घर जोडिकेका छन् । उनले भने, “पढे लेखेकाहरुले साइकल मर्मत गर्ने कामलाई तल्लो दर्जाको ठान्छन्, आफू भने शान र मानकासाथ यही व्यवसायमा रमाइरहेको छु ।”

धेरै वर्ष भारतमा बिताएका ५६ वर्षीय उनले ३८ वर्षको उमेरमा विवाह गरे । दुई छोरालाई बोर्डिङ स्कूलमा पढाइरहेका बुढाक्षेत्री आफ्नै ठाउँमा बसेर सहजै जीवनयापन गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । अछाम जिल्ला पुर्ख्यौली घर भएका उनले भने, “कामको खोजीमा विदेशिने युवाहरुलाई आफ्नै भूमिमा उद्यम गर्न सल्लाह दिन्छु ।”

सुरुका दिनमा छोरा पढिरहेको धनगढीको एक विद्यालयमा मासिक शुल्क बुझाउन जाँदा हेयको दृष्टिले गरिएको व्यवहारले अपहेलित महसुस गरेका उनले अर्को दिन भने आफूले विद्यालयका कर्मचारीसँग अग्रेजी भाषामा जवाफ फर्काउँदा शिक्षकले राम्रो व्यवहार गरेको अनुभव सुनाए । “आफूसँग योग्यता भएमा कति कदर हुँदो रहेछ भन्ने यो घटनाले सिकायो”, उनले भने, “त्यसपछि भने छोराछोरीको स्कूल जाँदा राम्रो व्यवहार हुने गरेको छ ।” उनको साइकल मर्मत गर्ने टहरोमा दिउँसो अधिकांश बुद्धिजीवी र समाजसेवीहरु आपसमा देशको सामाजिक, आर्थिक, राजनीतिकलगायतका विषयमा गफिन आउँछन् ।

“अहिलेको युवापिँढीका निम्ति श्रमको सम्मान गर्नुपर्छ भनेर बुढाक्षेत्री उदाहरण बनेका छन्”, उनको टहरोमा गफिँदै गर्नुभएका सुदूरपश्चिम विश्व विद्यालयका पूर्व डिन पदमकान्त जोशीले भने, “स्नातकोत्तर अध्ययन गरिरहेका भएपनि उनको मेहनत र परिश्रमलाई अन्य शिक्षित बेरोजगारका लागि उदाहरणीय काम हो ।”