
रामेछाप, ५ असोज । पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैं सुरु भएको छ । भोलि घरघरमा घटस्थापना गरी जमरा राखिँदैछ । रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा भने घटस्थापनाको अघिल्लो दिन जमारे औँसी अर्थात् आजै जमरा राखिएको छ ।
सर्वसाधारणले लगाउने जमरा घटस्थापनाको दिन राखिने भएपनि देवीले लगाउने जमरा त्यसको अघिल्लो दिन नै राख्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार आज खाँडादेवीमा जमरा राखिएको छ ।
खाँडादेवी विकास कोषको आयोजनामा खाँडादेवी मन्दिरमा जमरा राखिएको हो । जमरा राख्ने कार्यक्रममा विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ लगायत कोषका पदाधिकारीहरू, पुजारीहरू तथा मन्दिरका गुठियारहरूको सहभागिता थियो ।
जमरा राखेसँगै खाँडादेवी मन्दिरमा दशैं विशेष बली र पञ्चवली खुलेको छ । अब मन्दिरमा पञ्चवली र बली लिएर आउने मानिसहरूको भीड लाग्ने गर्दछ । खाँडादेवीलाई ऐतिहासिक शक्तिपीठ मानिन्छ । यसको वर्ष देवीभागवत महापुराणमा समेत गरिएको छ ।
त्यस्तै, शिवपुराणको हिमवतखण्डमा पनि यो मन्दिरको चर्चा छ । यस मन्दिरमा किँरातकालदेखि नै पूजाआजा गर्दै आएको विश्वास गरिन्छ । पहरी समुदायले खाँडादेवीलाई आफ्नी चेली ठानी विशेष पूजा गर्ने गर्दछन् ।
विसं १५७३ मा मन्दिरमा चढाइएको ठूलो घण्ट अहिले पनि मन्दिरमा सुरक्षित छ । त्यसअघि चढाइएका चाँदीका जन्तरलगायत गहना अहिले पनि सुरक्षित अवस्थामा छन् । दरबारबाट चढाइएका ती धरोहरहरूले खाँडादेवी मन्दिरको ऐतिहासिकता प्रमाणित गर्दछ ।
जनश्रुति अनुसार, नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीलाई सहायक गढी बनाएका थिए । युद्ध जित्न खाँडादेवीको आशीर्वाद लिएको र युद्धपश्चात् खाँडादेवीको शिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बाटोमै हराएर पुनः मन्दिरमै फर्किने गरेको जनश्रुति रहँदै आएको छ । त्यसपछि पृथ्वीनारायण शाहले खाँडादेवीसहितका देवीदेवताहरूलाई बली दिने परम्परा सुरु गराएको विश्वास गरिन्छ । उनकै आदेशअनुसार खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई हाँस र कुखुराको पोथी बली दिने परम्परा आजसम्म चलनमा छ । पहिला यो पूजाको खर्च दरबारबाटै आउने गथ्र्यो भने अहिले खाँडादेवी विकास कोषले त्यसलाई निरन्तरता दिँदै आएको छ ।
कोषले हरेक वर्ष बडादशैं र चैते दशैंको नवमीका दिन सरकारी पूजा गर्दै आएको छ । साथै, खाँडादेवी मन्दिरको संरक्षण, पूजा तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य पनि कोषमार्फत हुने गर्दछ ।
















प्रतिक्रिया