
काठमाडौं, ५ असोज । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुनः सुरु गरिएको छ । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यद्यपि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
अहिले पनि सडकमा धेरै सवारी साधन र मानिसहरू अलपत्र छन् । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
जिल्ला प्रशासन कार्यालय र प्रहरीले अलपत्र यात्रुहरूलाई शनिबार दिउँसो र बेलुकी पानी र खानाको व्यवस्था गरेको थियो । राजमार्गमा भएका व्यवसायीहरूलाई पनि अलपत्र यात्रुको सहजीकरणका लागि अपिल गरिएको थियो ।








प्रतिक्रिया