काठमाडौं, ३ असोज । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र कुनै पनि किसिमको विग्रह हुन नदिने बताएका छन् ।
संविधान दिवसका अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीमा विभाजन वा अविश्वासको कुनै ठाउँ नहुने स्पष्ट पारे । “एमालेले अहिले केही नोक्सानी बेहोरेको छ, तर हामी धुलो टक्टक्याएर फेरि उठ्छौँ । कमजोरीहरू सच्याएर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउँछौँ,” पोखरेलले भने ।
उनले एमाले असंख्य अग्रज र शहीदको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको भन्दै यसलाई अरू कसैले हल्लाउन नसक्ने जिकिर गरे । साथै, सामाजिक एकता र सद्भाव खल्बल्याउन खोज्ने तत्वलाई पराजित गर्ने चेतावनी पनि दिए ।
पोखरेलले नेपाल बहुजाति, बहुभाषा, बहुधर्म र बहुसांस्कृतिक देश भएको भन्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।








प्रतिक्रिया