
काठमाडौं, २ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आफू र सरकार संविधानभन्दा बाहिर नजाने बताएका छन् । आज बिहान नागरिक समाजका प्रतिनिधिसँगको भेटमा पौडेलले यसअघि चालेका कदम संविधानको बाध्यात्मक व्यवस्थाको उपज भनेका छन् ।
राष्ट्रपति पौडेलले सरकारले आफूलाई शान्तिपूर्ण निर्वाचन गराउने विश्वास दिलाएको हुँदा समयमा निर्वाचन हुनेमा ढुक्क रहेको बताएका छन् । त्यस्तै संविधानभन्दा बाहिर गएर कुनै पनि कार्यहरू नहुने स्पष्ट पारेको भेटमा सहभागी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले शिलापत्रलाई जानकारी दिए ।
भेटमा भट्टराईसहित महेशकुमार मास्के, मल्ल के. सुन्दर, परशुराम तामाङ, रत्न संसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउता, कनकमणि दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद वन्त र सुशील प्याकुरेल सहभागी थिए ।
नागरिक समाजका प्रतिनिधिहरूले राष्ट्रपति पौडेललाई चार वटा सुझाव दिएका छन् । जसमा जेनजी आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै अन्तरिम सरकार गठन गर्ने राष्ट्रपतिको कदम सराहनीय रहेको, अन्तरिम सरकारका प्रमुखले संसद् विघटन गर्नु संविधानसम्मत नभएकाmे यसले दल र संविधानको हितमा उभिएका पेसागत संघसंस्थासँगको दूरी बढाएको हुँदा यथाशक्य चाँडो निर्वाचन गराउन सहयोग गरेर संवैधानिक व्यवस्थालाई यथाशक्य चाँडो क्रियाशील गराउनु पर्ने कुरा उल्लेख गरिएको छ ।
त्यस्तै अन्तरिम सरकारले दलहरूलाई समेत विश्वासमा लिएर तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्नुपर्ने तथा लोकतन्त्रका आधार स्तम्भ आम नागरिक र राजनीतिक दलहरू रहेको हुँदा संवैधानिक संरचनालाई असंवैधानिक ढङ्गले खुम्च्याउने वा चलाउने कार्य भएमा द्वन्द्व निम्तिने सम्भावनालाई राष्ट्रपतिले चनाखो रूपमा हेर्नुपर्ने सुझावहरू समावेश गरिएका छन् ।









प्रतिक्रिया