
काठमाडौं, ३० भदौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् ।
घिसिङको पदभार ग्रहणमा मन्त्रालय र मातहतका कर्मचारीहरूको बाक्लो संख्यामा उपस्थिति रहँदा मन्त्रालय मातहतकै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भने देखिएनन् ।

पदभार ग्रहण गर्दै मन्त्री घिसिङले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए ।
ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाएका उनले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताए । अब निर्माणको अभियान सुरु भएको उल्लेख गर्दै उनले विभिन्न्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङको भनाइ थियो । उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए ।
“नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उनले भने, “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो ।”
मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने समेत उल्लेख गरे ।








प्रतिक्रिया