काठमाडौं, २९ भदौ । जेन–जी आन्दोलनका अगुवा दाबी गर्ने सुदन गुरुङले आगामी निर्वाचनमा परम्परागत दलका नेतालाई घरबाट बाहिर निस्कनै नदिने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लबमा आइतबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले नेताहरूलाई मत माग्न नआउने गरी आन्दोलन गर्ने दाबी गर्दै भने, “हामी फेरि आन्दोलन गर्छौं। आउनै दिँदैनौं। घरबाट बाहिर निस्कनै दिँदैनौं। म निस्कन दिन्न।”
पत्रकारले ‘६ महिनापछि तिनै दल फेरि चुनावमा आउँछन्, आन्दोलनले के उपलब्धि दियो?’ भनेर सोध्दा उनले आक्रोशपूर्वक यस्तो जवाफ दिएका हुन्।
उनको आक्रामक अभिव्यक्तिपछि पत्रकार सम्मेलनमा उपस्थित केही सञ्चारकर्मी, आन्दोलनका घाइते र मृतकका आफन्त तथा अभियन्ताबीच वादविवाद भएको थियो। विवाद बढेपछि कार्यक्रम अव्यवस्थित भई अन्ततः पत्रकार सम्मेलन नै भाँडिएको छ।
कार्यक्रममा होहल्लासँगै धकेलाधकेल भएपछि कार्यक्रमस्थलमा प्रहरी पुगेर सुदनलाई जोगाएका थिए। कार्यक्रममा हातमा ब्यान्डेज बाँधेर आएका एक व्यक्तिले कार्यक्रममा सहभागीलाई धकेलेर लखेटेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो।








प्रतिक्रिया