
काठमाडौं, २८ भदौ । आठ राजनीतिक दलका प्रमुख सचेतकहरुले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर बैठक बोलाउन माग गरेका छन् ।
संसद विघटन जेनजीको आन्दोलनको मर्म र संविधान विपरित भएको भन्दै उनीहरुले तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै संसद बैठक बोलाउन माग गरेका हुन् ।
‘जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरु एवं नेपालको संवैधानिक परम्परा विपरित रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ । तसर्थ, प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं ।’









प्रतिक्रिया