
सुर्खेत, २८ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल आफ्नो पैत्रिक घर जलेर नष्ट भएपछि भावुक बनेकी छिन् । उनले आफ्नो करिअरभरी नगरको विकास र जनताको सेवामा लागेको बताइँदै सबै सम्पत्तिको निष्पक्ष छानबिन गरिनुपर्ने माग गरेकी छन् ।
ढकालले आफ्नो ८ कोठाको दुईतले घर (वीरेन्द्रनगर नगरपालिका वडा नं. ८) पैत्रिक सम्पत्तिबाट र उनका श्रीमानको २५ वर्षको मेहनतको कमाइबाट बनेको व्यहोरा सार्वजनिक गरेकी छन् । पहिलो तल्ला २०५९ सालमा र दोस्रो तल्ला २०६५ सालमा बन्न पुगेको र घरभित्र रहेका चल अचल सम्पत्ति केही पैत्रिक र केही श्रीमानको कमाइबाट भएकोले त्यो सबै जलेर खरानी हुँदा घरपरिवार ठूलो क्षतिमा परेको उनले उल्लेख गरेकी छन् ।
ढकालले प्रश्न उठाइन्– के उनले जनप्रतिनिधिको रूपमा जनताको अधिकार र नगरको विकासका लागि अहोरात्र खटिएकै कारणले यस्तो पीडा भोग्नुपरेको हो ?
उनले आफ्नो कार्यकालमा नगर विकासका निम्न प्रमुख कामहरूको सूची प्रस्तुत गरेकी छन्–
१. सडक फराकिलो बनाई वीरेन्द्रनगरलाई पश्चिम नेपालको उदाउँदै गरेको सहर बनाउने काम,
२. सरकारी सम्पत्ति संरक्षण गर्दै सार्वजनिक पार्कको व्यवस्था,
३. बढ्दो जनसंख्या र सवारी चाप व्यवस्थापनका लागि पार्किङ प्रणाली,
४. बजार व्यवस्थित बनाउन फुटपाथ र पैदलमार्ग निर्माण,
५. मुख्य बजारमा ट्राफिक लाइट जडान गरी ट्राफिक व्यवस्थापन,
६. साना र ठूला योजना तथा आयोजना १२ लाखभन्दा माथिका ई–बिडिङ मार्फत अगाडि बढाउने पहल,
७. सार्वजनिक शिक्षामा सुधारका पहल,
८. बुलबुले, घण्टाघर जस्ता ऐतिहासिक धरोहरको संरक्षण र व्यवस्थापन,
९. खानेपानी अभाव समाधानका लागि राष्ट्रिय प्राथमिकतामा परेको भेरी लिफ्टिङ आयोजना सुरु गर्दै लगिनु,
१०. आवधिक रूपमा पालिकाभन्दा तीन गुणा बढी जनसंख्यालाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने काम,
११. २०७८ को जनगणनाअनुसार करिव १,५४,००० कायम भएको पालिकामा अस्थायी बसोबाससमेत मिलाउँदै करिव ६ लाख जनसंख्यालाई आधारभूत सेवा पुर्याउने पहल,
१२. कर्णाली प्रदेशको राजधानीको रूपमा वीरेन्द्रनगरलाई उपमहानगरस्तरको राजस्व र पूर्वाधार बनाउने लक्ष्य ।
उनले लेखिन्– “के यिनै कारणहरुका लागि म माथि यति ठूलो अन्याय गरियो ?” यदि दोषी ठहरिए आफैं परिणाम भोग्न तयार भएको पनि उनले स्पष्ट पारेकी छिन् ।
उनले दृढता गरेकी छिन्– “नगरबासी आमाबुवा दाजुभाइ दिदीबहिनी, तपाईंको मतको संरक्षण गर्दै जस्तोसुकै परिस्थितिमा पनि सतिसाल भएर नगरको विकास, राष्ट्र र राष्ट्रियताको पक्षमा उभिरहने छु। सधैं तपाईंको साथमा रहिरहने छु ।”








प्रतिक्रिया