काठमाडौं, २७ भदौ । नेकपा (एमाले)का केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले हालको असामान्य परिस्थितिको समाधानका लागि तीनबुँदे रोडम्याप प्रस्तुत गरेका छन् ।
गौतमले मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना, दोषीहरूका विरुद्ध उच्चस्तरीय न्यायिक छानबिन र कडा कारबाही, तथा राजनीतिक निकासका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान भित्रकै प्रक्रियाबाट समाधान खोजी अन्तरिम सरकार गठन गर्नु पर्ने बताएका हुन् ।
तीनबुँदे रोडम्याप यसप्रकार छ-
१. यही भाद्र २३ गते जेन-जी पुस्ताले कुशासन र वेथिति विरुद्ध, सुशासन, कानुनी राज्य र सोशल मिडिया खुलाउने पक्षमा उठाएको आवाज सही र यथार्थपरक थियो। तर गृह प्रशासनतर्फबाट जबरजस्त हस्तक्षेप गरी निहत्था विद्यार्थी र युवाहरूमाथि गरिएको दमन लोकतान्त्रिक शासन व्यवस्थामा ठूलो कलंक हो। यस घटनामा मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन्छ।
२. तर जेन-जी पुस्ताको गौरवपूर्ण आन्दोलनको आडमा भाद्र २४ गते राज्यको सम्पत्ति, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत सहित देशभरिका सरकारी कार्यालय, पार्टी कार्यालय, उद्योग/व्यावसायिक भवन तथा व्यक्तिका घररअफिसमा आक्रमण र आगजनी भएको छ। यसले अरूको सम्पत्ति नष्ट भएको छ। दोषीहरूका विरुद्ध उच्चस्तरीय न्यायिक छानबिन र कडा कार्यवाही आवश्यक छ।
३. जेन-जीहरूको आन्दोलनले मुलुकमा उत्पन्न असहज परिस्थितिको सामना गर्दै आन्दोलनका मागहरू सम्बोधन गर्न र उपयुक्त राजनीतिक निकासका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान भित्रकै प्रक्रियाबाट समाधान खोजी अन्तरिम सरकार गठन गर्नु पर्छ। अन्तरिम सरकारको प्रमुख नियुक्ति संवैधानिक र लोकतान्त्रिक रूपमा वृहत सहमतिका साथ हुनुपर्छ।









प्रतिक्रिया