काठमाडौं, २७ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन २७ घण्टामै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासम्म पुग्दा देशभरै तरंग ल्यायो। आन्दोलनको छोटो समयमै यस्तो ठूलो राजनीतिक परिवर्तन आएपछि यसको नेतृत्वबारे चासो बढेको छ।
आन्दोलनपछि ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका अध्यक्ष सुदन गुरुङ सबैभन्दा बढी चर्चामा छन्। उनले आन्दोलनपश्चात पत्रकार सम्मेलन गर्दै “कसैलाई पनि नछोड्ने” भन्दै घटनामा संलग्नलाई जहाँ गए पनि कारबाही गर्ने चेतावनी दिएका थिए।
प्राप्त विवरणअनुसार ‘हामी नेपाल’ संस्था सन् २०२० मा दर्ता भएको हो। दर्ता नम्बर ६०९७८९०६५ रहेको यस संस्थाको जम्मा पूँजी २९ करोड ५१ लाख रुपैयाँ रहेकोमा हालसम्म १९ करोड ११ लाख खर्च भइसकेको र १० करोड ४० लाख रुपैयाँ बाँकी रहेको देखिन्छ।
संस्थाका प्रमुख दातामध्ये डा. सन्दुक रुइत, दिपक भट्टको इन्फिनिटी होल्डिङ, उपेन्द्र हिरावत, सुलभ अग्रवाल र साहिल अग्रवालको शंकर ग्रुप रहेका छन्। त्यस्तै, चीनविरुद्ध गतिविधि सञ्चालन गर्दै आएको स्टुटेन्टस् फर अ फ्रि तिब्बत नामक संस्थाबाट पनि सहयोग प्राप्त भएको विवरण सार्वजनिक भएको छ।
यस्ता विवरण सार्वजनिक भएपछि गुरुङको संस्थाले जेन जी आन्दोलनमा कस्तो भूमिका खेलेको हो भन्नेबारेमा प्रश्न उठ्न थालेका छन्। आन्दोलन स्वतःस्फूर्त भए पनि पछाडिबाट विभिन्न स्वार्थसम्बद्ध समूहहरूको संलग्नता देखिएको आशंका गरिएको छ ।











प्रतिक्रिया