काठमाडौं, २७ भदौ । रिटर्नी फेडेरेसन नेपाल, नेपाल रिटर्नी एसोसिएसन र रिटर्नी सेन्टर नेपालले जेन जी आन्दोलनका कारण विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपालीहरूको तुरुन्त उद्धार र व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गरेका छन्।
रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद भट्टराई, नेपाल रिटर्नी एसोसिएसनका अध्यक्ष प्रविन पौडेल र रिटर्नी सेन्टर नेपालका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले आज संयुक्त विज्ञप्ति जारी गर्दै, विभिन्न मुलुकबाट नेपाल फर्कन लागेका नेपालीहरू विमानस्थलमा अलपत्र परेको जानकारी प्राप्त भएकोले तत्काल उद्धार र व्यवस्थापन आवश्यक रहेको बताएका हुन्। उनीहरूले ट्रान्जिट क्रममा बिरामी परेकाहरूका लागि निःशुल्क उपचारको व्यवस्था गर्न पनि आग्रह गरेका छन्।
आन्दोलनले वैदेशिक रोजगार क्षेत्रमा प्रत्यक्ष असर पु¥याएको भन्दै, वैदेशिक रोजगारीमा जाने तयारी गरेका युवाहरूको सहयोगका लागि तत्काल हेल्प डेस्क सञ्चालन गर्नुपर्ने संस्थाहरूको माग छ।
विज्ञप्तिमा २०८२ भाद्र २३ गते जेन जी आन्दोलनका क्रममा भएका दुर्भाग्यपूर्ण घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। आन्दोलनका क्रममा राष्ट्रिय, व्यक्तिगत तथा व्यवसायिक सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख प्रकट गरिएको छ। युवाहरूमा अन्योल सिर्जना भएको भन्दै तत्काल सुरक्षा र व्यवस्थापन सुनिश्चित गर्नुपर्ने उल्लेख छ।
संस्थाहरूले जेन जीसँग हुने वार्ता राष्ट्रपति कार्यालयमै हुनुपर्ने र जंगी अड्डामा हुने वार्ता तथा सम्झौताहरू खारेज गर्नुपर्ने मागसमेत गरेका छन्। नयाँ बन्न लागेको अन्तरिम सरकार नेपालको संवैधानिक व्यवस्था अनुसार गठन हुनुपर्नेमा पनि जोड दिइएको छ।
यसबाहेक, संस्थाहरूले सामाजिक सञ्जालमा संयमता र धैर्य अपनाउन आम नेपालीलाई अनुरोध गरेका छन्।
रिटर्नी संस्थाहरूका मुख्य मागहरू-
-अलपत्र परेका नेपालीहरूको तुरुन्त उद्धार र व्यवस्थापन
-ट्रान्जिट क्रममा बिरामी परेकाहरूको निःशुल्क उपचार
-वैदेशिक रोजगारमा जाने युवाहरूका लागि हेल्प डेस्क सञ्चालन
-जेन जीसँग हुने वार्ता राष्ट्रपति कार्यालयमै हुन र जंगी अड्डामा हुने वार्ता खारेज ।









प्रतिक्रिया