२१ जेष्ठ २०८३, बिहिबार

तनहुँ कारागारबाट भागेका २२ कैदीबन्दी नियन्त्रणमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डुम्रे, २६ भदौ । जिल्ला कारागार तनहुँबाट भागेका ३२७ मध्ये २२ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले उक्त जानकारी दिए । कारागार प्रशासनले फरार भएका कैदीबन्दीका परिवार र आफन्तसँग सम्पर्क गरेर  सुरक्षित फिर्ताका लागि आग्रह गरेको छ ।

प्रनाउ थापाले भने, “केहीका परिवारसँग समन्वय गरिरहेका छौं। केही आफैँ पनि सम्पर्कमा आएका छन् भने केही गन्तव्यतर्फ गइरहेको अवस्थामा सवारीसाधनमा खोजी गरिरहेका छौँ, विषम परिस्थितिमा सचेतता अपनाउदै दैनिकीलाई सहजता बनाउन आग्रह गरिरहेका पनि छौं ।” कारागार मर्मत भइरहेकोले आज बेलुकीसम्म नियन्त्रणमा लिइएका कैदीबन्दीलाई कारागारमा सार्ने उनले बताए ।

कारागार निमित्त प्रमुख पुष्प राउतले कारागारमा आफैँ सम्पर्कमा आएका कैदीबन्दीलाई पनि प्रहरी कार्यालयमा पठाइएको जानकारी दिएका छन् । “आवश्यक सम्पर्कका लागि परिवार र आफन्तले सिधा कारागार प्रशासनसँग सम्पर्क गर्न सक्नेछन् । हामी फरार भएका कैदीबन्दीको अवस्था बुझेर सुरक्षित फिर्ता सुनिश्चित गर्ने प्रयासमा लागिपरेका छौं”, उनले भने ।

राउतका अनुसार फरार कैदीबन्दीमध्ये २० जना महिला र बाँकी पुरुष छन् । मङ्गलबार दिउँसोदेखि आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगायतमा आगजनी र तोडफोड गर्दा कारागार परिसर पनि निशानामा परेको थियो । त्यसै क्रममा साँझ कैदीबन्दी भागेका हुन् ।