१ असार २०८३, सोमबार

कांग्रेस, एमाले, माओवादी, एस र मसालका युवा संगठनले निकाले संयुक्त विज्ञप्ति

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ भदौ । विभिन्न राजनीतिक दलनिकट युवा संगठनहरूले नयाँ सरकार गठन गर्दा संविधानबाहिर नजान आग्रह गरेका छन् । नेपाली कांग्रेसनिकट नेपाल तरुण दल, नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, नेकपा माओवादी केन्द्रको योङ्ग कम्युनिस्ट लिग (वाईसीएल), नेकपा (एकीकृत समाजवादी)को युवा संघ नेपाल र नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघले आज भर्अुअल बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आगामी राजनीतिक निकास संविधानभित्रैबाट निकाल्न माग गरेका हुन् ।

नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, वाईसीएल अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा भनिएको छ– जेन जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधिनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौं । कुनै पनि नयाँ परिवर्तनतर्फ अग्रसर हुँदै गर्दा ठूलो बलिदानीमार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्छ भनेर जोडदार माग गर्दछौं ।’

यी संगठनले केही दिनयताका घटनाहरूबाट स्तब्ध र गम्भीर भएको बताएका छन् । आन्दोलनका क्रममा भएका हत्या, तोडफोड र आगजनीका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न माग उनीहरूले माग गरेका छन् । ’हामी जेन जीले प्रस्तुत गरेका प्रमुख मागहरू– भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता– प्रति समर्थन जनाउँदछौं र उक्त मागहरूको सम्बोधन लागि पहल गर्दै आएको कुरा स्मरण गराउँदछौं । भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रियामार्फत सजाय दिनुपर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

देशको पछिल्लो अवस्थाप्रति चारै युवा संगठनहरू गम्भीर रहेको राष्ट्रिय युवा संघ, नेपालका प्रवक्ता निरोज पौडेलले बताए । ’हामी निरन्तर छलफलमा छौँ’, उनले भने, ’संविधान र लोकतन्त्र मास्ने कुनै षड्यन्त्र नहोस् भनेर हामी खबरदारी पनि गर्न चाहन्छौँ ।’

संयुक्त विज्ञप्ति

हामी नेपालका निम्न युवा संगठनहरू विगतका केही दिनयताका घटनाहरूबाट स्तब्ध र गम्भिर भएका छौं । जेन जीको आह्वानमा भएको आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु र एक हजार बढी घाइते भएका छन् । यो स्तरको मानवीय क्षति अत्यन्तै दुखद, हृदयविदारक र निन्दनीय छ । सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दछौं र परिवारजनमा गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दछौं साथै सबै घाईतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथि कानूनबमोजिम कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौं ।

हामी जेन जीले प्रस्तुत गरेका प्रमुख मागहरू – भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता – प्रति समर्थन जनाउदछौं र उक्त मागहरूको सम्बोधन लागि पहल गर्दै आएको कुरा स्मरण गराउदछौं। भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रिया मार्फत सजाय दिनुपर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको छ ।

प्रधानमन्त्रीले राजीनामा दिईसकेपछि पनि अवाञ्छित तत्वले विध्वंस, आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटना गराउने काम जारी छ । हामी यी सम्पूर्ण घटनाको पूर्णरूपले निन्दा र भत्सर्ना गर्दछौं । यस स्तरमा सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति हुदा समेत नेपाली सेना लगायतका सुरक्षा निकाय के कारणले मुकदर्शक भएर बसेका हुन् ? यस सम्बन्धमा छानबीनसहित यस आन्दोलनको क्रममा सुरक्षा निकायहरूको भूमिकाको गम्भीर समिक्षा र पुनरावलोकन गरिनुपर्ने माग गर्दछौं । साथै अहिलेसमेत जारी विध्वंसकारी गतिविधिप्रति सुरक्षा निकायको गम्भिर ध्यानाकर्षण गर्दै टोलटोल सुरक्षा समितिको गठन गरी यस्ता घटना रोक्न जनसमुदाय र स्थानियतहका समितिहरूलाई अपिल गर्दछौ । यस्ता घटनाहरूले आन्दोलनको शुद्धता र उद्देश्यलाई क्षति पुयाउँछन् र राष्ट्रलाई थप पीडा दिइरहेका छन् ।

हामी विशेष गरेर अबको आगामी राजनीतिक यात्रा यस अघिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र तय गरिनुपर्छ भन्नेमा प्रष्ट छौं । जेन जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिईरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधिनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौं । कुनै पनि नयाँ परिवर्तनतर्फ अग्रसर हुदै गर्दा ठुलो बलिदानीमार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्छ भनेर जोडदार माग गर्दछौं । साथै, आगामी राजनीतिक निकास संविधानभित्रैबाट निकालिनुपर्छ भनेर माग गर्दछौं ।

मुलुकको यस विषम परिस्थितिमा हामी सम्पूर्ण युवाहरूलाई संयमित र सजग तथा नेपालको लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका निमित्त दृढ भएर क्रियाशील रहन हार्दिक अपिल गर्दछौं ।