काठमाडौं, २५ भदौ । नेपालमा हालै भएको ‘जेन–जेड’ आन्दोलनलाई भारतीय सञ्चारमाध्यमहरूले विदेशी शक्तिहरूको षड्यन्त्रसँग जोडेर प्रस्तुत गरेका छन्। आन्दोलनमा देखिएका मागहरू बेरोजगारी, नातावाद, भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि भएका अंकुशसँग सम्बन्धित भए पनि भारतीय टेलिभिजन च्यानलहरूले यसलाई योजनाबद्ध टुलकिट र भूराजनीतिक खेलको रूपमा चित्रण गरेका हुन्।
News 18 India का अमन चोपडाले आन्दोलन आकस्मिक नभई योजनाबद्ध भएको संकेत गर्दै यो युवाहरूको वास्तविक निराशा नभई परिचालन गरिएको हुनसक्ने टिप्पणी गरेका छन्।
टाइमस् नाउ भारतका सुशान्त सिन्हाले नेपालमा भएको यो आन्दोलनलाई भारतको वैश्विक उदयसँग जोडेर देखाउने प्रयास भएको दाबी गरेका हुन्।
डीडी न्यूजका सुधीर चौधरीले विदेशी शक्तिहरूले क्षेत्रीय अस्थिरता बढाउन काम गरिरहेको संकेत गरेका छन्।
रिपब्लिक टीभीका अर्णव गोस्वामीले यसलाई सीआईए वा अमेरिकी हस्तक्षेपको परियोजना हुनसक्ने भन्दै प्रस्तुत गरे।
आज तककी अञ्जना ओम कश्यपले ‘हाम्रो नेपाल’ नामक गैर–सरकारी संस्थाले कोकाकोला, ख्ष्दभच जस्ता कम्पनीबाट २० करोड रुपैयाँ प्राप्त गरी आन्दोलन सञ्चालनमा लगाएको दाबी गरेकी हुन् ।
भारतीय मिडियाले आन्दोलनमा सहभागी युवाहरूलाई मोबाइल र इन्टरनेटमा लत परेको, रिसेका र असन्तुष्ट पुस्ता भनेर चित्रण गरे। तर, यस क्रममा आन्दोलनका वास्तविक माग र संरचनात्मक समस्याहरूलाई ओझेल पारिएको टिप्पणी गरिएको छ।
युवाहरूले लोकतान्त्रिक जवाफदेहिताको माग राखे पनि केही सञ्चार माध्यमहरूले यसलाई राजतन्त्र वा हिन्दुराष्ट्रको समर्थन गर्ने आन्दोलनजस्तो बनाएर प्रस्तुत गरेका छन्, जसले आन्दोलनको वास्तविक स्वरूपलाई विकृत गरेको देखिन्छ।










प्रतिक्रिया