१८ असार २०८३, बिहिबार

सुरक्षाका कारण भारतद्वारा जमुनाहा सीमा नाका बन्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नेपालगन्ज, २५ भदौ । जेनजी आन्दोलनका कारण नेपालमा भएको घटना क्रमलाई मध्यनजर भारतले नेपाल भारत जमुनाहा सीमा नाका बन्द गरेको छ । यसअघि नाकामा निकै कडाइ गरेको भारतीय सुरक्षाकर्मीहरूले नेपालको अवस्था गम्भीर बन्दै गएपछि नाका बन्द गरेको जनाएका छन् ।

बुधबार बिहानैबाट नाकामा कसैलाई पनि आवागमन गर्न नदिइएको जनाउँदै बिरामी, एम्बुलेन्स तथा अन्य आपातकालीन अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्न दिइएको भारत रुपैडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतले बताए ।

उनले भारतबाट आउने नेपालीलाई पनि अवस्था हेरेर जान दिइएको जनाउँदै भारतीयलाई नेपाल प्रवेश गर्न नदिइएको तथा नेपालीलाई भारत प्रवेश गर्न नदिइएको बताए ।

देशभरी जेनजी विद्यार्थीले प्रदर्शन सुरु गरेपछि केन्द्रको आदेश जनाउँदै यहाँस्थित नेपाल भारत सिमानाको भारतीय सुरक्षा पोष्टमा एसएसबी र भारतीय प्रहरीले मङ्गलबार चेकजाँचमा निकै कडाइ गरेका थिए । पछि उनिहरुले नाका बन्द भएको घोषणा गर्दै नाकामा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेका थिए ।

यता, प्रदर्शनकारीहरूले जमुनाहाको प्रहरी चेकपोस्ट र भन्सार यात्रु शाखामा मङ्गलबार दिउँसोपछि तोडफोड र आगजनी गरेपछि त्यहाँबाट हटेका सुरक्षाकर्मीहरू बुधबार बिहान फेरि नाकामा पुगेर सुरक्षा दिन थालेका छन् । रातभरि नाकामा नेपाली सुरक्षाकर्मीहरू नरहेको स्थानीयले जनाएका छन् ।

नेपाली सेनाले सुरक्षाको कमान्ड सम्हालेपछि अहिले नाकालगायत नेपालगन्ज बजारको अवस्था सामान्य बन्दै गएको छ ।