
काठमाडौं, २४ भदौ । अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई आग्रह गरेका छन् । सोमबार प्रहरीको गोली लागेर मारिएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्न जेनजीद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै हमालले यस्तो बताएका हुन् ।
सोमबारको घटना नेपाली इतिहासको सबैभन्दा कालो दिन भएको उनले बताए । ‘नेपालमा जेनजीले जुन कदम उठाएको छ त्यसको समर्थन हामी सबैले गरेका छौं । साथसाथै आन्दोलनमा उत्रिएका जेनजीलाई म विनम्र अनुरोध गर्दछु राष्ट्रको सम्पदा, राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन। ती हाम्रा हुन् । तिनको नाश नगरौं संरक्षण गरौं,’ उनले भने ।
हमालले भोलि देशको नेतृत् वगर्ने अवसर आउँदा नयाँ पुस्तालाई तिनै संरचना र सम्पदा आवश्यक पर्ने भन्दै संयमता अपनाउन अपिल गरे । उनले एक, दुई वा पाँच, ६ वर्षदेखिको आक्रोश नभई वर्षौंदेखि उम्लिएको असन्तोष अहिले विस्फोट भएको भन्दै उनले अब नेपालीले नै मिलेर नेपाल जोगाउनुपर्ने बताए ।








प्रतिक्रिया