
काठमाडौं, २० भदौ । लिओनल मेसीले आफ्नो चम्किलो करिअरमा अन्तिमपटक अर्जेन्टिनाको राष्ट्रिय टोलीका साथ घरेलु विश्वकप छनोट खेल्दा राम्रो सम्झना बनाइरहेका छन् ।
बिहीबार मेसीले दुई गोल गर्दै अर्जेन्टिनाको भेनेजुएलामाथि ३–० को जित सुनिश्चित गरे । स्टेडियो मोनुमेन्टलमा जम्मा भएको भीड उनलाई विदाई दिन उपस्थित थियो ।
‘यसरी यहाँ अन्तिममा खेल्न पाउनु मेरो सधैंको सपना थियो,’ मेसीले भने, ‘मैदानमा धेरै अनुभवहरू प्राप्त गरेको छु, राम्रो पनि नराम्रो पनि । तर, सधैं अर्जेन्टिनामा हाम्रा समर्थकहरूको सामु खेल्नु ठूलो खुसी हो ।’
मेसीले अहिलेसम्म खेलबाट कहिले बिदा हुने भन्ने कुनै संकेत दिएका छैनन् । तर, २०३० विश्वकपका छनोट खेल २०२७ मा सुरु हुने छन् । त्यतिबेला उनी ४० वर्षका हुनेछन् ।
अर्जेन्टिनाका कप्तान मेसीले ३९औं र ८०औं मिनेटमा गोल गरे भने ७६औं मिनेटमा लौटारो मार्टिनेजले गोल थपे । दक्षिण अमेरिकी विश्वकप छनोटमा उनी सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले कुल ३६ गोल गरेका छन् ।
उनका इन्टर मियामी टोलीका सहकर्मी लुइस सुआरेजले २९ गोल छन्, तर उनले उरुग्वेको राष्ट्रिय टोलीबाट बिदा लिइसकेका छन् । बोलिभियाका मार्सेलो मोरेनो मार्टिन्स तेस्रो स्थानमा छन् । उनले २२ गोल गरेका छन् ।
आगामी विश्वकपका लागि मेसीले भने, ‘म उत्साहित छु। दिनहुँ अनुभव गरिरहेको छु । यदि शरीरले साथ दिन्छ भने म खेल्छु नभएँ, त्यहाँ हुनु आवश्यक छैन । प्रतियोगिता सुरु हुन अझ नौ महिना बाँकी छ, जुन लामो समय हो ।’
पहिले नै छनोट भइसकेका अर्जेन्टिना तालिकामा ३८ अंकसहित शीर्ष स्थानमा छ । मंगलबारको अन्तिम खेलले जे भए पनि दक्षिण अमेरिकी छनोट तालिकाको शीर्ष स्थानमा रहनेछ ।
भेनेजुएलाले पहिलोपटक विश्वकपमा प्रवेश गर्ने लक्ष्य राखेको छ । तर, भेनेजुएला १८ अंकसहित सातौं स्थानमा छ । अझै अन्तरमहाद्वीपीय प्लेअफको लागि प्रतिस्पर्धामा छ ।










प्रतिक्रिया