२२ असार २०८३, सोमबार

चाडपर्वलाई लक्षित गरी मुग्लिन–मलेखु सडक मर्मत गरिँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ भदौ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडक स्तरोन्नतिसँगै चाडपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो ।

पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैँअघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । उनले भने, “दसैँ, तिहारमा आवतजावत गर्ने यात्रीको सङ्ख्या बढी हुने भएकाले उहाँहरूको सहजताका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मर्मतमा केन्द्रित भएका छौँ ।”

ठूला खाल्डा भएका ठाउँमा बाहिरबाट गिट्टी लगेर भर्न थालिएको छ भने सडक सम्याउने काम पनि भइरहेको प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार सो खण्डको ३८ किलोमिटरमध्ये आठ किमी कालोपत्र गरिसकिएको छ । “अरु केही भागमा कालोपत्र गर्ने तयारी गरिएको छ । त्यसबाहेकका खाल्डो परेका ठाउँहरूमा मर्मतसम्भारको काम थालिएको हो”, उनले भने ।

वर्षाको समयमा कालोपत्र गर्न नमिल्ने भएकाले सडकको छेउमा ‘स्टिल’ राख्ने तथा ‘आरसिसि सेफ्टीवेरियर’को काम भइरहेको जनाउँदै उहाँले योसँगै नाली निर्माण गरिएको बताए । सो खण्डमा पर्ने छ मध्ये चार वटा पुलको काम अन्तिम चरणमा पु¥याइएको नेपालले जानकारी दिए । उनका अनुसार मौवा खोला, खटौती र गौमती पुलको ढलान सकेर पहुँच सडकको काम भइरहेको छ ।

वारबाङ् पुल एक साताभित्र ढलान गरिँदै छ । यी चार वटै पुल दुई महिनाभित्र सम्पन्न भई सवारीसाधन सञ्चालन गरिने नेपालले बताए । “बाँकी रहेका चरौँदी पुलमा तीन वटा फाउण्डेसनमध्ये दुई वटा सकिएको छ भने हुग्दिको तीन वटा फाउण्डेसनमध्ये एउटा सकिएको छ”, उनले भने । यी दुई पुल आगामी वर्षको मनसुन सुरु हुनु अघि सक्ने लक्ष्य छ ।

आयोजनाका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । “यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । सात दशमलव दुई किमी सडक चार लेन सडकको हुनेछ”, उनले भने ।

चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए । उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्ग पर्दछ । यसमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्ने आयोजना प्रमुख नेपालले जानकारी दिए ।

शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम गर्नुपर्ने इञ्जिनियर दरैले उल्लेख गरे ।