२ असार २०८३, मंगलबार

रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । २२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सहज बनाउन संघीय संसद् प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाबारे सभापति कुसुमदेवी थापाको अध्यक्षतामा बसेको समितिको बैठकमा वन तथा वातावरण मन्त्रालय, अपर तामाकोशी हाइड्रोपावरका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल भएको थियो ।

छलफलपछि समितिले आयोजना निर्माण सुचारु गर्न आवश्यक वातावरणीय व्यवस्थापन योजना परिमार्जनसहित सहजीकरण गर्न निर्देशन दिएको हो । यससँगै २०७९ साल चैत ५ गते स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन र लगानी सहजीकरणसम्बन्धी कानूनी संशोधनमा सर्वोच्च अदालतको आदेशपछि देखिएको अन्योल समाधानका लागि स्पष्ट नीतिगत निर्णय गर्न सरकारलाई आग्रह गरिएको छ ।

समितिले आयोजना अघि बढाउन पहिले नै सर्वेक्षण अनुमति र उत्पादन अनुमति प्राप्त गरी लगानी गरिसकेका कम्पनीहरूको प्रक्रिया सहज बनाउन तथा कानूनी जटिलता समाधान गर्न वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ ।