
–अन्जनी कुमार अधिकारी
उदयपुर, १८ भदौ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले विकास निर्माणमा पछि परेको भूगोललाई माथि उठाउने कोसिस गर्दा आफूले आरोप खेप्नुपरेको बताएका छन् ।
बुधबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिले राखेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।
मन्त्री राईले २१औं शताब्दीमा समेत खोटाङ जिल्ला वर्षाको समयमा तराईसँगको सम्बन्ध विच्छेद भएर बस्नु पर्दाको पीडा आफूले केही हदसम्म सम्बोधन गर्न खोज्दा धेरैतिरबाट आफूलाई चुनौती थपिएको समेत बताए । आफू आफ्नो निर्वाचन क्षेत्र जाँदा आफू चढ्ने गाडी सुनकोशी वारी राखेर पैदल आफ्नो निर्वाचन जानु पर्दा कस्तो हुन्छ होला भन्दै आफूले खोटाङ जिल्लालाई विनियोजन गरेको बजेटलाई अतिरञ्जित गर्नेहरुलाई प्रश्न गरे । उनले आफूले वर्षाको समयमा प्रकृतिद्वारा हुने खोटाङको नाकाबन्दीको अन्त्य गर्न मात्र खोजेको बताउँदै यसको विरोध नगर्न सबैलाई आग्रह गरे ।
कोशी प्रदेश सरकारमा आफू मन्त्री भएर आफूले जिम्मेवारी निर्वाह गरेदेखि प्रदेशका कुनै क्षेत्र र समुदायलाई लाखापाखा गर्ने काम नगरेको भन्दै राईले आफूले गरेका राम्रो कार्यको विरोध गर्दै केही अराजक तत्वहरुले जात र वर्गका नाममा आफूलाई विकास कार्यक्रम बोकेर आफ्नो गृह जिल्ला जाँदै गर्दा अवरोध गर्ने प्रयास गरेको भन्दै रोष प्रकट गरे । उनले उदयपुर खोटाङ जोड्ने सुनकोशी नदीको बंशिलाघाटमा यसवर्ष बेलीब्रिज जडान गरिने समेत बताए । यसले उदयपुर र खोटाङलाई सिधा यातायातमा जोड्ने समेत बताए ।

राईले अब बंशिलामा पुल बनेपछि उदयपुर–खोटाङ र भोजपुरा सिधा जोडिने बताउँदै यसले समग्र उदयपुरका बजारमा नयाँ आयाम थपिने समेत जिकिर गरे । राइले उदयपुर र खोटाङलाई जोड्ने सडक अन्तर्गतको बेल्टार बंशिलाघाट सडक यसवर्ष बहुवर्षे योजनामार्फत ठेक्का प्रक्रिया अघि बढाउने तयारीमा आफू रहेको समेत बताए । उनले सिमित स्रोतसाधनका बीच संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विकासमा छायाँमा परेका क्षेत्रलाई माथि उठाउने कोसिस गरिरहेको समेत दाबी गरे ।
मन्त्री राईले नेपाल पत्रकार महासंघ उदयपुर र पाँचथरको भवनलाई पुनःनिर्माणका लागि आवश्यक रकम भूलबस बजेटमा छुटेको भन्दै यसलाई आफूले जसरी पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेटघाट कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताले मन्त्री राई समक्ष विभिन्न योजनाका मागपत्र पेश गरेका थिए । उनीहरुले सडक, बेलीब्रिज, क्याम्पस भवन लगायतका विषयमा मागपत्र पेश गरेका थिए ।
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका मन्त्री राई समक्ष नेपाली कांग्रेस उदयपुर निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति खगेन्द्र राईले बेल्टारमा रहेको कोभिड अस्पताललाई ट्रमा सेन्टरको रुपमा रुपान्तरण गर्न माग गरे । उनले पछिल्लो समय मदन भण्डारी राजमार्गमा भइरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै तत्कालीन कोभिड महामारीको अवस्थामा निर्माण गरिएको अस्पताल अहिले प्रयोगविहीन भएर जिर्ण बन्दै गएकोले पनि यसलाई तत्काल ट्रमा सेन्टर बनाउनु पर्ने बताए ।
कार्यक्रम नेपाली कांग्रेस नगर सभापति राजेन्द्र पौडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रम नगर सचिव रोहित तामाङले सञ्चालन गरेका थिए ।









प्रतिक्रिया