
–अन्जनी कुमार अधिकारी
उदयपुर, १७ भदौ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनका कारण देशमा वन विनाश रोकिएको दाबी गरेका छन् ।
मंगलबार उदयपुर सदरमुकाम गाईघाटमा आयोजित वन पुनःस्थापनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् । उनले महिला, दलित र विपन्न वर्गको नेतृत्व विकासमा समेत सामुदायिक वन समूहको भूमिका महत्वपूर्ण रहेको बताए ।
सामुदायिक वन उपभोक्ता समूह जिल्ला महासंघ उदयपुरको हलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले वन समूहमा पदाधिकारीमध्ये एक जना महिला अनिवार्य गरिएको कारण स्थानीय तहमा महिलाहरू नेतृत्वमा आउन सफल भएको समेत जिकिर गरे ।
अध्यक्ष भण्डारीले नेपालको सामुदायिक वन कार्यक्रम कुनै विज्ञले ल्याएको नभई यहाँको धर्म, संस्कृति र परम्पराको उपज भएको उल्लेख गरे । साथै, सामुदायिक वन समूहको प्रयासले वन विनाश रोकिएको र वन क्षेत्रफल विस्तार भएको बताउँदै सरकारले वन समूहलाई धन्यवाद दिनुको साटो उल्टै कर लगाउने कार्य गरेकोमा भने आपत्ति जनाए ।
सामुदायिक वन उपभोक्ता समूह महासंघ, फोरेष्ट एक्सन नेपाल र फोरेष्टरर्स एसोसिएसन नेपालको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरको व्यवस्थापनमा भएको कार्यक्रममा निमित्त डिभिजन वन अधिकृत रामभगत यादवले सामुदायिक वन महासंघसँग सहकार्यमा हालसम्म कार्य भएको र आगामी दिनमा पनि यो सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।
उदयपुरमा दुई वटा डिभिजन वन कार्यालयअन्तर्गत ४०० भन्दा बढी सामुदायिक वन समूह दर्ता रहेका छन् ।
जिल्ला महासंघका अध्यक्ष कुशलबाबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, गैसस महासंघका अध्यक्ष सृजना पौडेल लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया