
हेटौंडा, १७ भदौ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउँदै परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’लाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/८३ को कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा आमूल परिवर्तनको आवश्यकता औंल्याएका हुन् । उनले केवल औपचारिकता निभाउने र पुरानै ढर्रामा काम गर्ने प्रवृत्तिले जनतामा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकिने स्पष्ट पारे ।

“हामीले अब टिप्पणी उठाएर र फाइल सदर गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने मानसिकता त्याग्नुपर्छ,” मन्त्री देवकोटाले भने, “हाम्रो हरेक काम जनताले प्रत्यक्ष देख्ने र अनुभव गर्ने गरी परिणाममा देखिनुपर्छ । यसका लागि स्मार्ट तरिकाले काम गर्नुको विकल्प छैन ।”
मन्त्री देवकोटाले कुनै पनि ठूलो लक्ष्य एक्लै हासिल गर्न नसकिने बताउँदै मन्त्रालयका विभिन्न महाशाखा, विभाग र कर्मचारीहरूबीच बलियो ‘टिमवर्क’को खाँचो रहेको बताए । “एउटा व्यक्ति वा एउटा निकाय मात्र दौडेर हुँदैन । जबसम्म हामी सबै एउटै टोलीको रूपमा समन्वयका साथ अघि बढ्दैनौँ, तबसम्म नतिजा आउँदैन,” उनले भने ।
परिवर्तन र विकासका लागि नवीन सोच र गतिशील कार्ययोजना अपरिहार्य रहेको उल्लेख गर्दै उनले विश्वव्यापी रूपमा विकास भइरहेका नयाँ प्रविधि र अवधारणालाई प्रदेशको विकासमा जोड्नुपर्ने धारणा राखे । उनले योजनाहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी स्रोत र साधनको अधिकतम उपयोग गर्नसमेत निर्देशन दिए । गोष्ठीमा विगतका कामको समीक्षा गर्दै आगामी वर्षका लागि थप स्पष्ट, रणनीतिक र कार्यान्वयनयोग्य योजना निर्माणमा केन्द्रित हुन आग्रह गर्दै उनले छलफलबाट आउने निष्कर्षले प्रदेशको पूर्वाधार विकासमा नयाँ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव ईश्वरीचन्द्र मरठ्ठाको अध्यक्षतामा भएको दुईदिने (भदौ १७ र १८) गोष्ठी कार्यक्रममा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन विज्ञ डा. माघव कार्की र शहरी योजना तथा वस्ती विकास विज्ञ डा. संगिता सिंहले सहजीकरण गर्नेछन् ।
कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नविनकुमार सिंह, प्रदेशका ११ वटै जिल्लाका भौतिक पूर्वाधार विकास कार्यालय, शहरी विकास तथा भवन कार्यालयका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया