२३ असार २०८३, मंगलबार

पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले सुरक्षित राख्नुपर्छ : राजन भट्टराई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिलाका जानकार डा. राजन भट्टराईले सीमा विवादका विषयमा अडानमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविदसँग अन्तसंवाद’ कार्यक्रममा बोल्दै उनले अघिल्लो पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले अडानका साथ सुरक्षित राख्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘अघिल्लो पुस्ताले ज्यान दिएर जोगाए, आज त अडान लिँदा पुग्छ, हामीले एकताबद्ध प्रयास गरेनौँ भने देश जोगाउन सकिँदैन, त्यसैले यो कुनै व्यक्ति विशेषको मात्र प्रसङ्ग होइन, यो देशभक्त नागरिकको साझा जिम्मेवारी हो ।’

डा. भट्टराईले लिपुलेक लगायतका भूभागमा नेपालको दाबी कदापि छाड्न नहुने स्पष्ट अडान व्यक्त गरे । उनले भने, ‘देशभक्त नागरिकका हिसाबले त्यो भूभागको दाबी हामीले छाड्नु हुँदैन, सीमा विवाद टुङ्गिन समय लाग्न सक्छ तर अडान छाड्न हुँदैन, अन्य राष्ट्रिय कतिपय विषयमा विवाद हुन सक्छ, तर यस्ता मुद्दामा भने सबैले एकमत हुनु जरुरी छ ।’

भारत–चीनबीच भएको सहमतिमा लिपुलेकलाई व्यापारिक नाका बनाउन गरिएको निर्णय नेपाललाई अस्वीकार्य भएको प्रष्ट पार्दै उहाँले चीनले नेपालका चासोलाई बेवास्ता गर्न नहुने टिप्पणी गरेका थिए । कार्यक्रममा उनले चीनको भूमिकाबारे पनि प्रष्ट विचार राख्दै भने, ‘सो भूमि भारत र नेपालको मामला हो भनेर चीन पनि उम्किन मिल्दैन, यसमा चीनले पनि नेपाललाई सहयोग गर्नुपर्छ ।’

उनले सबै खालका समस्याको समाधान संवादबाट नै हुने स्पष्ट पारेका छन् ।  ‘अबको बाटो फेरि पनि संवाद नै हो, संवादबाटै समस्या समाधान गर्नुपर्छ’, उनले भने । नेपालको भारतसँगको सम्बन्ध बहुआयामिक भए पनि सीमा विवादमा नेपाल पूर्ण रूपमा स्पष्ट रहेको उनको भनाइ छ । ‘नेपालको भूमि कसैले पनि मिच्न पाउँदैनु, उनले भने । डा. भट्टराईले राष्ट्रिय स्वाभिमानका सवालमा कुनै सम्झौता गर्न नहुने भन्दै यस्ता विषयमा राजनीतिक दल, बौद्धिक समुदाय र नागरिक समाजबीच साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार, सीमा विवाद टुङ्गिन समय लागे पनि नेपालले निरन्तर आफ्नो अडान कायम राख्नुपर्छ र वार्ता तथा कूटनीतिक माध्यमबाट मात्र स्थायी समाधान सम्भव छ ।

कार्यक्रममा नेपाल–भारत सीमा अध्ययन समितिका संयोजक डा. विष्णु उप्रेतीले पनि सीमा विवादका विषयमा आफ्नो विचार प्रस्तुत गर्दै ठूला छिमेकी राष्ट्रहरूले साना मुलुकहरूसँग सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । उनले लिपुलेक क्षेत्र ऐतिहासिक रूपमा नेपालको भूमि भएको प्रमाण पर्याप्त रहेको उल्लेख गर्दै भारत र चीन दुवैले नेपाललाई हेपाहा व्यवहार गर्न नमिल्ने टिप्पणी गरे ।

त्यस्तै सीमा विज्ञ डा. बुद्धिनारायण श्रेष्ठले पनि आफ्नो धारणा राख्दै नेपालले प्रमाणसहित दाबीलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । उनले सीमा विवाद केवल दुई देशबीचको कूटनीतिक समस्या नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको मुद्दा भएकाले यसमा सरकारले स्पष्ट र दृढ अडान लिनुपर्ने धारणा राखे ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी विज्ञ र परराष्ट्रविद्हरूले प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा राखेको लिपुलेकबारेको स्पष्ट अडानलाई स्वागत गर्दै नेपालले आफ्ना हित र सार्वभौमसत्ता जोगाउन अडानमा निरन्तरता दिनुपर्ने निष्कर्ष प्रस्तुत गरे ।