२८ जेष्ठ २०८३, बिहिबार

राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेको २० ट्रक अलपत्र

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जुम्ला, १६ भदौ । अविरल वर्षापछि आएको पहिराले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । भदौ १४ गते बिहान ९ः४५ बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा भएको अवरुद्ध अझै खुलेको छैन् । तीनदेखि सडक पूर्णरूपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन् ।

गगने खोलामा ठुला ढुङ्गा आएको र ब्रेकरले पनि ढुङ्गा फुटाउन सम्भव नभएपछि ब्लास्टिङ गर्ने तयारी भइरहेको छ । सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर गएका २० वटा ट्रक बाटोमै रोकिएको छ । तीनदेखि ट्रक बाटोमै रोकिएपछि करोडौँ रुपियाँ पर्ने स्याउ कुहिने जोखिम बढेको छ ।

विगतको तुलनामा यस वर्ष ढिला गुल्कोजको मात्र भरिएको र पाकेको स्याउ निर्यात भएकाले निर्वाध रूपमा गन्तव्य पुग्न नसकेमा स्याउ कुहिने जोखिम बढ्ने कृषि विज्ञहरू बताउँछन् । सीमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीको रेकर्डअनुसार भदौ १४ गतेदेखि १६ गते बिहानसम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् ।

नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार भदौ १४ गते ८ वटा, भदौ १५ गते ११ वटा ट्रक र भदौ १६ गते अर्थात १ वटा गरी जम्मा २० वटा ट्रकले स्याउ बोकेर गएको असई शर्माले जानकारी दिनुभयो । भदौ १४ देखि १६ गतेसम्म स्याउ बोकेका २० ट्रक रोकिएका छन्। २० वटा ट्रक भण्डै सात सय ९ क्विन्टल स्याउ निर्यात भएको छ ।

न्यूनतम १२ क्विन्टलदेखि अधिकतम् ४० क्विन्टलसम्म स्याउ व्यापारीले बिक्रीका लागि लिएको पाइएको छ । लगातार दुई दिनदेखि बाटोमै स्याउ थन्किएपछि कुहिने जोखिम बढेको व्यापारी हरिसिंह नेपालीले बताए । उनले भने, “स्याउ निर्यातकै सिजनमा वर्षा हुने, बाढी पहिरो आउने र बाटो अवरुद्ध हुने समस्या छ ।

करोडौंका स्याउ बोकेका गाडी अलपत्र पर्ने गरेका छन् । तर अवरुद्ध खुलाउने तयारी सुस्त छ । ठुला ढुङ्गा खसेका ब्रेकरले फुटाउन सकेको छैन । अब ब्लास्टिङ गर्ने भन्ने छ । कहिले सडक खुल्ने हो पत्तो छैन् । त्यस्तै अर्का स्याउ व्यापारी कालीबहादुर रोकायाले सडक अवरुद्ध भएपछि जुम्लाका किसान र व्यापारीले गत वर्षजस्तै सास्ति पाएको बताए ।

उनले ४ हजार किलो स्याउ बिक्रीका लागि लिएका छन् । सडक खुल्ने स्थिति नरहेपछि कुहिने चिन्ताले सताएको छ । उनले भने, “किसानको आधा पैसा दिन बाँकी छ । गाडीको ढुवानी दिनुपर्ने छ । स्याउ बाटोमै थन्किएपछि कुहिने सम्भावना छ । समयमै सडक नखुल्दा किसान व्यापारी मारमा परेका छौं । तत्काल सडक खुलाउनु पर्छ ।”

जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउ निर्यात गरेर आउने आम्दानी हो । स्याउ निर्यातको समयमा दिनसम्म सडक अवरुद्ध भएको र खुल्ने समय निश्चित नहुँदा बाटोमा अलपत्र परेको मात्र नभई बोटकै स्याउ पनि कुहिने अवस्था आएको छ । प्रहरीको रेकर्ड अनुसार २० ट्रक अलपत्र परेको छ ।

प्याकिङ गरी निर्यात गर्ने तयारीमा रहेका गाडी र सङ्कलन गरेर प्याकिङ गर्दै गरेको स्याउ पनि जिल्लामै थन्किएको छ । यो समस्याले किसानको करोडौं मूल्यको स्याउ कुहिने जोखिम बढेको छ । एउटा ट्रकमा कम्तिमा पाँच सय स्याउका कार्टुन लोड गरिएका छन् । तीन दिनदेखि सडक पूर्णरूपमा अवरुद्ध भएपछि करोडौँको स्याउ अलपत्र अवस्थामा छ ।

यस वर्ष जुम्लामा बढीमा १३ हजार मेट्रिकटन स्याउ फल्ने अनुमान गरिएको छ । जम्मा ४ हजार मेट्रिक टनसम्म निर्यायत हुने अनुमान कृषकको छ । असिनाले यस वर्ष जुम्लामा स्याउमा ठुलो क्षति गरेको छ । करिब ५ लाख बिरुवामा असिनाले क्षति गर्दा १६ करोडको स्याउ नोक्सान भएको थियो । उत्पादन कम भएको वर्ष मुल्यवृद्धि भए पनि सडक अवरुद्ध हुँदा किसान र व्यापारी घाटामा छन् ।

सडक अवरुद्ध हुँदा ठुला मालबाहक सवारीसँगै अन्य यात्रुबाहक सवारी पनि सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज, सुर्खेत गाडी पुर्याउन नसके करोडौँको क्षति जुम्लाले बेहोर्नुपर्ने जुम्लाका देउराम नेपालीले बताए । उनले भने, “केही कमाइ होला, नजिकिदै गरेको दशैँतिहार मनाउने रकमको जोहो होला भनेर स्याउ ल्याइयो, बाटो अवरुद्धले उल्टै समस्या पर्नेभयो ।”

“चार दिनदेखि बाटोमै छौं, चालक, सहचालकलाई खुवाउँदा खर्च बढेको छ । गाडीको ढुवानी पनि बढी तिर्नुपर्ने अवस्था छ । यसरी थन्किएको स्याउ कुहिने समस्या पनि हुन्छ । करोडौँको क्षति हुने निश्चित छ” नेपालीले भने ।