१९ असार २०८३, शुक्रबार

कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक छ : प्रचण्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक भएको बताएका छन् । पार्टी विभाजनले मात्रै अहिले आफ्नो पार्टीको मत घटेको उनले उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै  अध्यक्ष दाहालले नेकपा ९एमाले० सँगको पार्टी एकतापछिको मूल नेतृत्व माओवादी केन्द्रको हुन नसक्दा एकता कायम राख्न नसकिएको बताए ।

“नेतृत्व हाम्रो हुन्थ्यो भने म दाबीका साथ भन्छु पार्टी विभाजन पनि हुँदैन थियो”, उनले भने, “समाजवादको यात्रातिर हामी गम्भीर ढङ्गले जान सम्भव थियो, तर मूल नेतृत्व हाम्रो भएन । मूल नेतृत्व एमाले भएर फुटेको हो ।”

अध्यक्ष दाहालले माओवादी जनयुद्ध सामन्तवादको विरुद्धमा निकै सोच विचार गरेर थालनी गरिएको उल्लेख गर्दै आफूहरुविरुद्ध फेरि विरोधीहरुले अलि धेरै नै प्रचार गरेर जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको बताएका छन् । उनले भने, “संसद्मा हाम्रा केही त्रुटि भए भनेर हामीले भर्खरै स्थायी समितिको बैठकमा समीक्षा गरेर अघि बढेका छौँ ।”

कम्युनिष्ट आन्दोलन र समाज जोडिनेतिर अगाडि बढिरहेको जिकिर गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र जति शक्तिका साथ आक्रमक ढङ्गले आफ्नो विचार अगाडि लैजान्छ अन्य पार्टीमा ध्रुवीकरण पनि त्यही स्तरमा बढ्ने र त्यसको नेतृत्व आफूहरुले गर्नुपर्छ भने ।

बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुन, पार्टीका सचिव तथा प्रदेश इन्चार्ज चक्रपाणि खनाल र स्थायी समितिका सदस्यहरुको उपस्थिति रहेको पार्टीको लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।