
काठमाडौं, १५ भदौ । द ब्रिटिस कलेजको आयोजनामा ‘छैटौं ब्रिटिस कप २०२५’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । यही अगस्ट २५ देखि २९ (भदौ ९ देखि १३)सम्म काठमाडौंको बालुवाटारस्थित धुकु स्पोर्ट्स हबमा आयोजना भएको छैटौं ब्रिटिस कप २०२५ अन्तरकलेज फुटसल प्रतियोगितामा हाई स्कूलतर्फ चेल्सी इन्टरनेशनल एकेडेमी र ब्याचलरतर्फ इनसाइट भिजनले उपाधि हात पारेका हुन् ।
यसवर्षको प्रतियोगितामा हाई स्कूलतर्फ १७ र ब्याचलरतर्फ २० वटा कलेजहरूको सहभागिता थियो ।
हाई स्कूलको फाइनल खेलमा चेल्सी इन्टरनेशनल एकेडेमीले डीएभी कलेजलाई हराउँदै च्याम्पियन बनेर १ लाख रुपैयाँ जित्यो भने डीएभीले उपविजेताको रूपमा ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
यस विधामा चेल्सी एकेडेमीका विमर्श बम ठकुरी उत्कृष्ट खेलाडी, यशराज साह उत्कृष्ट गोलकिपर घोषित भए । एभीएमका रिजन महर्जन ११ गोलसहित सर्वाधिक गोलकर्ता बने भने रोम्बस सेकेन्डरी स्कुलले फेयर प्ले अवार्ड प्राप्त गर्यो । यी व्यक्तिगत विधाका विजेताले ५ हजार रुपैयाँ प्राप्त गरे।
त्यस्तै, ब्याचलरतर्फ इनसाइट भिजनले न्याथमलाई पराजित गर्दै च्याम्पियन बनेर १ लाख रुपैयाँ जित्यो भने उपविजेता बनेको न्याथमले ५० हजार रुपैयाँ प्राप्त गर्यो । यसस्तरमा इनसाइट भिजनका रविन चौलागाईं उत्कृष्ट खेलाडी र सुजन बराम उत्कृष्ट गोलकिपर चुनिए । न्याथमका विविध विष्ट सर्वाधिक गोलकर्ता बने भने लिटिल एन्जल्स कलेजलाई फेयर प्ले अवार्ड प्रदान गरियो । यी विजेताहरूलाई व्यक्तिगत विधामा १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

द ब्रिटिस कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले प्रतियोगितालाई सफल बनाउन योगदान गर्ने विद्यार्थी, स्वयंसेवक र सहभागी सबैलाई धन्यवाद दिँदै यस प्रतियोगिताले कलेजको भावना प्रतिबिम्बित गरेको बताए । उनले अर्को वर्ष सातौं ब्रिटिस कप २०२६ मा काठमाडौं बाहिरका कलेजलाई समेत सहभागी गराउने योजना रहेको जानकारी दिए ।








प्रतिक्रिया