१ असार २०८३, सोमबार

‘सहकारीलाई दिगो र विश्वासिलो बनाउन चुनौतीको सामना गर्नुपर्छ’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले सहकारीलाई दिगो र विश्वासिलो बनाउन चुनौतीको सामना गरेर अगाडि बढ्न आग्रह गरेकी छन् ।

महिलाहरूकै नेतृत्व र व्यवस्थापनमा सञ्चालन भएको अक्षयकोष बचत तथा ऋण सहकारी संस्थाको १५औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई सामना गरेर मात्रै सहकारीलाई दिगो र विश्वासिलो बनाउन सकिने बताइन् ।

उपाध्यक्ष घिमिरेले सहकारी भनेको वित्तीय संस्था मात्र नभई आत्मनिर्भरता, सहकार्य र साझा समृद्धिको आधारस्तम्भ पनि भएको उल्लेख गरिन् । “सहकारी समृद्धिका आधार पनि हुन्, तर यो क्षेत्र पूर्णतयाः समस्यामुक्त छैन । पछिल्ला केही वर्षमा सहकारी क्षेत्रमा चुनौतीहरू गहिरिँदै गएका छन्, यी चुनौतीहरूलाई समाधान नगरी हामीले सहकारीलाई दिगो र विश्वासिलो बनाउन सक्दैनौँ । त्यसैले समस्या समाधानका गम्भीर बन्न आवश्यक छ ।” उनले भनिन् ।

सहकारी आन्दोलन नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा एउटा शक्तिशाली माध्यम भएको बताउँदै उपाध्यक्ष घिमिरेले पछिल्लो समय सहकारीले सदस्यको बचतलाई उत्पादनमुखी क्षेत्रमा भन्दा पनि छिटो नाफा देखिने जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरिन् । उनले यस्तो प्रवृत्तिले सहकारीलाई बदनाम र सहकारी अभियानलाई नै विफल बनाउने अवस्था आइपुगेकाले सहकारी विभाग, स्थानीय तह र अन्य नियामक निकायबीच आवश्यक समन्वय र सूचनाको आदान–प्रदान गरेर समस्या समाधान गर्न आग्रह गरिन् ।

उपाध्यक्ष घिमिरेले सहकारी क्षेत्रलाई संसद्ले आवश्यक कानुन बनाउन, नीतिगत मार्गनिर्देशन गर्न र कार्यान्वयनमा निरन्तर अनुगमन गर्न भूमिका खेल्ने विश्वास दिलाइन् । महिला नेतृत्वमा सञ्चालित सहकारी संस्थाहरूलाई सबल र प्रभावकारी बनाउनका लागि संसद् निरन्तर साथमा हुने उनको भनाइ थियो ।