३१ जेष्ठ २०८३, आइतबार

संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १४ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्नेमा जोड दिएका छन् ।

नेवाः देय् दबु गण्डकी प्रदेश समितिको आयोजनामा आजदेखि तनहुँको भिमाद नगरपालिका–६ भीमाद रङ्गशालामा सुरु प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले धर्म, संस्कृति जोगाउनु सबैको दायित्व भएको उल्लेख गरे ।

गण्डकी प्रदेश संस्कृतिमा धनी रहेको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले भाषा, कला, संस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री पाण्डेले लाखे नाच प्रतियोगिताले यसको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समय मौलिक संस्कृति लोप हुँदै गएकाले संस्कृति जगेर्नाका लागि लाखे नाच प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष मथुराकृष्ण श्रेष्ठले जानकारी दिए । उनले भने, “संस्कृति संरक्षण गर्दै भावी पुस्तालाई यसको हस्तान्तरण गर्नु अपरिहार्य भइसकेको छ । अहिलेका पुस्ताले मौलिक संस्कृतिप्रति चासो नदेखाउँदा लोप हुन सक्छ ।”

प्रतियोगितामा गण्डकी प्रदेशका नौ जिल्लाबाट सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एक हजार एक सय ११ रुपैयाँ, द्वितीय हुनेलाई ६१ हजार एक सय ११ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

लाखे नाच नेवार समुदायको परम्परा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनले भने, “विगतमा लाखे नचाउँदा छुट्टै उत्साह हुन्थ्यो, अहिले यो प्रचलन क्रमशः घट्दै जान थालेको छ । यसको संरक्षणका लागि प्रयास गरेका हौँ ।”