
काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौं महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगरप्रहरीको ठूलो योगदान रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ३३औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धेरै पालिकाहरुमध्ये काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहिरहेको भन्दै यसमा नगर प्रहरीको ठूलो भूमिका रहेको बताए ।

उनले भने, ‘आफूले गरिरहेको कतिपय कामहरु याद पनि नहुँदो रहेछ । आज यहाँ सबै कुराहरु हेर्दा खुशी पनि लाग्यो । महानगरपालिकाको आफ्नो पहिचानमध्ये नगर प्रहरी बलको योगदान पनि एक हो । काठमाडौं महानगरपालिका ७५३ पालिकाको राजधानी हो र यो राजधानी हुनुमा नगर प्रहरीको धेरै ठूलो योगदान छ । धेरै ठाँउहरु, पालिकाहरु छन् जसले काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहन्छन् ।’
यस्तै, उनले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा पनि नगर प्रहरीको उल्लेख्य योगदान रहेको बताए ।
उनले भने, ‘सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा पनि तपाईहरुको उल्लेख्य योगदान छ । काम हेर्दा कहिलेकाही सिनेमा हेरेजस्तो लाग्छ । एकदम राम्रो भएको छ । तपाईंहरुले गर्नु भएको काम उदाहरण बन्न सक्नुपर्छ ।’ साथै, महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर प्रहरी नागरिकहरुसँग हरेक सुख–दुःख विपद्देखि जात्रा महोत्सव सबैमार्फत जोडिएको भन्दै जनताको सबैभन्दा नजिक रहने संस्था नै नगर प्रहरी भएको बताइन् ।

डंगोलले भनिन्, ‘नगर प्रहरी भनेको नागरिकहरुसँग हरेक सुख–दुःख, विपद्देखि जात्रा महोत्सव सबैमार्फत जोडिएको हुन्छ । त्यसकारण पनि नगर प्रहरीले महानगरपालिकाको प्रतिनिधित्व गरिरहेको हुन्छ । संस्थाले सोचेका कामहरु कार्यान्वयन गर्न पनि तपाईंहरुको भूमिक एकदमै महत्वपूर्ण हुन्छ । तपाईंहरुले काम गर्दा निष्पक्ष भएर काम गर्नुहुन्छ । जनता र संस्थाको हितको लागि काम गर्नुहुन्छ ।’ महानगरपालिकाको काम र योजनालाई कार्यान्वयन गर्न सकारात्मक रुपमा लागेका सबै नगर प्रहरीलाई उनले धन्यवाद पनि दिएकी छन् ।









प्रतिक्रिया