
काठमाडौं, १३ भदौ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो १ः१५ बजे बस्ने बैठकको सुरुवात अर्थमन्त्री विष्णु पौडेलसँग सम्बन्धित मौखिक प्रश्नोत्तरबाट हुनेछ ।
त्यस्तै, अर्थमन्त्रीले सांसदहरूले उठाउने प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछिन् ।
यस्तै, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव ल्याउने कार्यसूची छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ पनि दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया