
तनहुँ, ८ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनप्रतिनिधि र कर्मचारीलाई जनतालाई सन्तुष्ट पार्ने खालको सेवा दिन निर्देशन दिएकी छिन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा आज गरिएको स्थानीय जनप्रतिनिधि र कर्मचारीबीचको अन्तरक्रियामा बोल्दै मन्त्री न्यौपानेले सेवाप्रवाहमा कुनै पनि कमजोरी नगर्न निर्देशन दिएकी हुन् ।
उनले भनिन्, “जनतालाई सेवा गर्ने काममा कमी कमजोरी हुनु हुँदैन, तपाईंहरू जनतासँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ, त्यसैले जनताको मुहारमा खुसी ल्याउने गरी काम गर्नु जरुरी छ ।”
मन्त्री न्यौपानेले स्थानीय तहलाई सरकारको सबैभन्दा नजिकको संरचना भएको भन्दै, जनतासँग प्रत्यक्ष सम्पर्कमा हुने भएकाले सेवाप्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, “सामिप्यता, एकता र सहकार्य नभए कुनै पनि काम सफल हुँदैन । जुनसुकै पार्टीबाट निर्वाचित भए पनि जनतालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्छ ।” उनले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई पारदर्शी, जिम्मेवार र जवाफदेही ढङ्गले काम गर्न सुझाव दिँदै सुशासन कायम गर्न सरकार गम्भीर रहेको जानकारी दिइन् ।









प्रतिक्रिया