
काठमाडौं, ८ भदौ । नेपालसँग हवाई सम्पर्क बढाउन र पर्यटन प्रवद्र्धन गर्न भियतनाम सकारात्मक भएको नेपाली अधिकारीले बताएका छन् । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा भियतनामका अधिकारीहरुले हवाई सम्पर्क बढाउन र पर्यटन प्रवद्र्धनका लागि सकारात्मक सन्देश दिएका हुन् ।
आइतबार बिहान काठमाडौंको होटल याक एण्ड यतिमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवम् दक्षिणपूर्वी एशिया प्रशान्त महाशाखाका प्रमुख प्रकाश अधिकारीले वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका समग्र विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार दुवै पक्षले मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवद्र्धनका लागि एयर कनेक्टिभिटी (हवाई सम्पर्क) बढाउनुका साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको अधिकारीले जानकारी दिए ।
‘सांस्कृतिक, धार्मिक समानता र बुद्ध धर्म दुवै देशको सम्बन्धको सेतुको रुपमा रहेकाले धार्मिक, सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नको लागि प्रचुर सम्भावना रहेको कुराबारे पनि छलफल भएको छ,’ अधिकारीले भने, ‘दुई देशबीच पयर्टन प्रवद्र्धन गर्नका लागि निकट भविष्यमा एयर कनेक्टिभिटी बढाउनका लागि आपसी छलफल गर्ने कुराकानी समेत भएको छ ।’
नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन शनिवार काठमाडौं आएकी थिइन् । यो भियतनामबाट भएको नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो ।
नेपाल आएलगत्तै सुआनले परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । सो अवसरमा राणाले भियतनामलाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान सुरु गर्न प्रस्ताव गरेकी थिइन् ।
उपराष्ट्रपति सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग र भोलि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्किने छिन् ।









प्रतिक्रिया