
भक्तपुर, ८ भदौं । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले मदन भण्डारी फाउन्डेशन पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको आरोप लगाउँदै यसको अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन् ।
आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले फाउन्डेशन एमालेको समानान्तर संरचना बन्न खोजेको भन्दै यसको अन्त्य हुने बताए ।
भट्टराईले भने, ‘अहिलेसम्म फाउन्डेशनमा रहेर पार्टीमा काम गरिरहेका एमालेका नेता तथा कार्यकर्ताहरुलाई पार्टीले फर्कन निर्देश गर्ने तयारी गरिरहेको छ । यसो गर्ने बित्तिकै मदन भण्डारी फाउन्डेशनको वर्तमान अस्तित्व समाप्त हुनेछ ।’
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै फाउन्डेशनलाई राजनीतिको थलो बनाउन खोजिएको प्रयास असफल हुने स्पष्ट पारे । उनले भने, ‘फाउन्डेशनमार्फत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिविधि गर्ने जुन सोच्नुभएको छ त्यो अवसर पार्टीले दिने छैन ।
त्यसो नहुने बित्तिकै उहाँ घर फर्केर सम्मानित रूपमा पूर्वराष्ट्रपतिकै रूपमा जीवन बिताउनु हुनेछ । जुन संरचना नै रहँदैन त्यहाँ बसेर राजनीति गर्छु भन्ने कुरा नै रहँदैन, उहाँले २/४ महिना भाडा तिर्नुहुन्छ, घर फर्कनुहुन्छ ।’
उनले एमालेभित्रको अन्य नेताहरुलाई समेत फाउन्डेशन र पार्टीबीच एक छनोट गर्न चेतावनी दिए। उनले प्रश्न गरे, ‘ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलाई म के भन्न चाहन्छु भने तपाईहरू फाउन्डेशनको नेता बन्न चाहनुहुन्छ कि एमालेको नेता फाउन्डेशनको नेता बन्न चाहनुहुन्छ भने त्यो अर्कै कुरा हो, पार्टीको नेता बन्न चाहनुहुन्छ भने फाउन्डेशनको नाममा अनावश्यक गतिविधि गर्ने काम तपाईहरूलाई शोभनीय हुँदैन ।’
कार्यक्रममा प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले पछिल्लो समय पूर्वरास्ट्रपति भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय खोलेको र त्यसमा एमालेकै नेताहरुको उपस्थिति रहेको विषयमा प्रश्न गरेका थिए ।








प्रतिक्रिया