काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन् ।
नेकपा (एमाले) मधेस प्रदेशले विधान संशोधनको लागि बर्दिबासमा आयोजना गरेको सुझाव सङ्कलन बैठकमा बोल्दै महासचिव पोखरेलले विधान महाधिवेशनमा विधान संशोधनका लागि केन्द्रको प्रस्ताव तलसम्म पठाइसकिएकोले त्यसमा आवश्यक सुझाव दिन आग्रह गरेका हुन् ।
पार्टीमा उमेरहद, कार्यकाल र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कि नफर्कने भन्ने विषय पार्टीले टुङ्ग्याइसकेकोले अब त्यसमा बहस आवश्यक नरहेको उनको भनाइ छ । अब नेकपा एमालेको राष्ट्रिय गन्तव्य समृद्ध नेपाल सुखी नेपाली भएको उनले बताएका छन् । अब यो पार्टीका आकाङ्क्षा मात्र होइन लक्ष बन्नु पर्नेमा उनले जोड दिए ।
मुख्य नेतृत्वको वरिपरि सबै केन्द्रित रहनु पर्ने बताउँदै उनले बहुपदीयको अर्थ बहुगुट हुनु नभएको स्पष्ट पारे । पार्टीको नीति र कार्यक्रम प्रति सबैको प्रतिबद्धता तथा नेतृत्व प्रतिको अधीनस्थताले पार्टीलाई बलियो बनाउने उनको भनाइ छ । पार्टीलाई सबल बनाउने हो भने सिङ्गो पार्टी नेतृत्वको वरिपरि हुनु पर्दछ’, उनले भने । पार्टीलाई बहुसङ्ख्यक जनताको माझमा पुर्याउन पार्टीमा दुई खालका सदस्यताको प्रस्ताव ल्याइएको उनले बताए । ‘चुनावका बेलमा काम नलाग्ने, नेता कार्यकर्ताको कुनै अर्थ छैन, अघि पछि एमाले हुने, चुनावको बेलमा कता भोट हाल्छ भन्ने ठेगान नहुने नेता कार्य–कर्ताको के अर्थ ?’, उनले भने।
राजनीतिक संघर्षको केन्द्रिय थलो निर्वाचन भएको बताउँदै अब चुनावमा काम लाग्ने नेता, कार्यकर्ता र पार्टी बनाउनु पर्नेमा उनले जोड दिए । त्यसकै लागि एमालेले पार्टी सदस्य र संगठित सदस्यको अवधारणा ल्याएको पोखरेलले बताए । अहिले पार्टी र पार्टी नेतृत्वको विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उनले बताए ।
पार्टी भित्रबाट नभएर पार्टी बाहिरकाले पार्टीको विरोध गरिरहेका बताउँदै उनले भने, ‘एमालेको सबैभन्दा चर्को विरोध नेकपा एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन्’,। मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यक रहेकोमा उनले जोड दिँदै भने, ‘केन्द्र सरकार र प्रदेश सरकारले मात्र पुग्दैन, तपाईँहरू सबै नेता जुटे चुनाव जितिन्छ, जुटे जितिन्छ, फुटे हारिन्छ’,।
पार्टीको महाधिवेशनमा पार्टीलाई कसरी निर्णायक शक्ति बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने उनले बताएका छन् । मिसन २०८४ लाई केन्द्रित गरी पार्टीको अभियान अघि बढ्ने पोखरेलले स्पष्ट परे ।
लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको बताउँदै महासचिवले राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने धारणा राखे ।








प्रतिक्रिया