काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले लाओसमा सम्पन्न ‘मार्क्सवादी राजनीतिक दलहरूको शासकीय अनुभव’ विषयक बौद्धिक बहसमा सहभागी भएर नेपालको शासकीय अनुभव सुनाएका छन् ।
चीन, भियतनाम, लाओस र नेपाल गरी चार देशका कम्युनिष्ट विचार राख्ने एकसय जना प्राध्यापक, अध्येता र बुद्धिजीवीको सहभागिता रहेको कार्यक्रममा केन्द्रीय सदस्य रिजालले नेपालको अनुभव र परिस्थितिका बारेमा व्याख्या गर्नुका साथै विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेका मुख्यतः पाँचवटा प्रश्न विमर्शका लागि उठान गरेका थिए ।
चीनको क्वाङ्सी विश्वविद्यालयको स्कुल अफ मार्कसिजम् र लाओसको लाओ नेसनल युनिभर्सिटीको संयुक्त आयोजनामा गत साउन ३१ देखि भदौ २ गतेसम्म लाओसको राजधानी भेन्टेइनमा भएको बौद्धिक बहसमा आफूले समाजवादले पनि आ–आफ्ना देशका विशेषताहरू अवलम्बन गर्नुपर्दोरहेछ भन्ने अनुभूतिका आधारमा नेकपा (एमाले) ले आफ्नो लक्ष्यका रूपमा पहिलो पटक विधानमै ‘नेपाली विशेषता अनुरूपको समाजवाद’ उल्लेख गर्न लागेको सहभागीहरूलाई जानकारी गराएको बताए ।
‘विश्वमै कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको बेला जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद नामक जुन मौलिक कार्यक्रम अघि सारे, निःसन्देह एमालेको विस्तार, विकास र लोकप्रियताको आधार त्यही हो’, उनले भने ।
आफ्नो प्रस्तुतिका क्रममा फलतः आज एमाले अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित रूपमा सरकारको नेतृत्व गरिरेको र एमाले लोकप्रिय जनमतका आधारमा पहिलो शक्तिका रूपमा स्थापित भएको जानकारी गराएका थिए । कम्युनिस्ट आन्दोलनमा क्रान्तिको एक मात्र मोडल नहुने र मार्कसवादले पनि सशस्त्र सङ्घर्ष क्रान्तिको एक मात्र मोडल हो नभनेको उल्लेख गर्दै केन्द्रीय सदस्य रिजालले शान्तिपूर्ण रूपमा जनताको मन जितेर पनि क्रान्तिलाई अघि बढाउन सकिन्छ भन्ने कुरालाई नेपालको अनुभव र सफलताले पुष्टी गरेको धारणा राखेका थिए ।
नेपालमा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अघि सारेको र यो समाजवादतर्फको कार्यक्रम भएको सहभागीहरू सामु प्रष्ट पारेको केन्द्रीय सदस्य रिजालले बताएका छन् ।











प्रतिक्रिया